राष्ट्रपति र चोलेन्द्रको अडान : देशलाई हित, दललाई अहित (भिडिओसहित)

अहिले मुलुक गम्भीर राजनीतिक मोडमा छ । मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचन तोकिएकाबेला नागरिकता विधेयकका कारण राष्ट्रपतिसंग सरकारको टकराव बढेको छ भने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिमा दिएको बयानले अर्को सनसनी मच्चाएको छ ।

यी दुवै प्रमुख मुद्दाले चुनावी बहसलाई ओझेलमा पारेको छ । देश नै पक्ष विपक्षमा बाँडिने स्थिति देखा परेको छ । राप्रपा नेपालका सह महामन्त्री डम्मरप्रसाद शिवाकोटीका अनुसार राष्ट्रपति र निलम्बित प्रधानन्यायाधीश राणा दुवैका अडान राष्ट्रको पक्षमा छन् । नेपालका दलहरु विदेशीको कब्जामा रहेकाले उनीहरुका हरेक गतिविधि शंंकास्पद रहेको बताउँछन् ।

नेता शिवाकोटीका अनुसार राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण गर्न भन्दा राजीनामा दिन श्रेयस्कार हुन्छ । विधेयक अस्वीकृत गर्दा राजा बिरेन्द्रको वंशनाश हुने स्थिति आएको स्मरण गर्दै उनले राष्ट्रपतिमाथि समेत त्यो खतरा आउनसक्ने बताए । संवैधानिक व्यवस्था अनुसार संसदले पारित गरेको विधेयक पारित गर्नेपर्ने बाध्यता भएपनि राष्ट्र जोगाउन उनले पद दाउमा राख्न सक्ने उनी बताउँछन् ।

यस्तै, निलम्बित प्रधानन्यायाधीशले महाअभियोग सिफारिस समितिमा जसरी पूर्व प्रधानन्यायाधीश, वहालवाला न्यायाधीश, वकिल र मिडियामाथि आक्रोश पोखे त्यो सत्यमा आधारित रहेको शिवाकोटी बताउँछन । राणाले पोलेका सबै न्यायाधीशले पद छाड्नुपर्ने उनको सुझाव छ ।

अहिलेका यी प्रमुख दुई मुद्दाले राष्ट्रिय तरंग सृजना गरेपनि मंसिरको चुनावमा भने फरक पर्ने छैन । सबै दलहरु चुनावमा होमिसकेकाले चुनाव रोकिने स्थिति निर्माण हुनेछैन । मुख्यतः आउँदो चुनावमा राप्रपा नेपालले राष्ट्रिय पार्टी हुने लक्ष्य बोकेको शिवाकोटी बताउँछन् । शिवाकोटी भन्छन्, ‘ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एमालेले सहयोग गर्दापनि चुनाव हार्छन्, महामन्त्री धवलशम्शेर जग्गा विवादमा फसेका छन, उनी सकभर चुनाव नै लड्न पाउँदैनन, लडेपनि जित्ने सम्भावना छैन । ’

शिवाकोटीका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्शा ल्याएकाले भारत रिसाएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापासँग पनि चीन र भारत रुष्ट छन् ।

विस्तृत भिडिओमा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१