
काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता राजीव झाले राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरे मुलुकमा राजनीतिक दुर्घट्ना हुने चेतावनी दिएका छन् ।
हुलाक सञ्चारसँग कुरा गर्दै नेता झाले संविधान बमोजिम संघीय संसदले पारित गरेको विधेयक दोसो पटक अस्वीकार गर्ने अधिकार राष्ट्रपतिसंग नरहेको बताए । उनले राष्ट्रपति कुनै दल विशेष र नेताको इशारामा चल्ने नभइ राष्ट्रकै अभिभावक भएर बस्नुपर्ने बताए । कुनै अमुक देशको नागरिकलाई नागरिकता बाँड्न लागेको अनावश्यक हल्ला चलाएर आफ्नै देशका नागरिकलाई नागरिकताविहीन बनाए मुलुक अकल्पनीय दुर्घट्नामा जाने उनले बताए ।
नेता झाले लोसपा आफना माग र मुद्दामा प्रतिबद्ध भएकाले आगामी चुनावमा गठवन्धनबारे हतारमा निर्णय गरिहाल्ने अवस्थामा नरहेको स्पष्ट पारे ।
झा भन्छन्, ‘ लोसपाले गठन्धन गर्ने हो भने जसपा, सिके राउतको जनमत, रेशम चौधरी र हृृदयेश त्रिपाठीसंग गर्नुपर्छ । देउवा प्रचण्ड र एमालेसंग गर्न हुँदैन । अहिलेको सत्ता गठबन्धन अप्राकृतिक छ । यो गठबन्धन देशका लागि होइन, चुनावम आफनो सिट जोगाउन मात्र हो । ’
जसपा, सिके राउत, रेशम र हृदयेश त्रिपाठीसंग गठवन्धन भए तराईमा ‘क्लिनस्विप’ गर्ने उनको दाबी छ ।
देशमा कुनैपनि दल देश र नागरिकप्रति जिम्मेवार नभएको जनाउँदै उनले देशभर काठमाडौंमा मेयर बालेन साह जस्तो नेतृत्व चाहिएको बताए । बालेनले आफनो सय दिनके उपलब्धी सार्वजनिक गर्दा अन्य मेयरहरु भने मुकदर्शक बनेर बसेको उनको आरोप छ ।
नेता झाले आगामी चुनावमा ६० वर्ष कटेका कसैलाई पनि जिताउन नहुने धारणा राखे । देशमा युवा नेतृत्वको आवश्यकता भएकाले अब औषधि खाएर बाँचिरहेका नेताहरुलाई विदाइ गर्नुको विकल्प नभएको उनको धारणा छ ।
विस्तृत भिडिओमा :