• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

‘कांग्रेस–एमालेको उपसभामुख हटाउने प्रयास गलत, हाम्रो विरोध रहनेछ’ – प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाका उपसभामुखलाई हटाउने प्रयासको विरोध गर्ने स्पष्ट बताएका छन्।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर नेपाली काँग्रेस र नेकपा एमाले गल्ती गर्न लागेको आरोप लगाए । उनले यस्तो कदमको आफ्नो पार्टीले दृढ विरोध गर्ने चेतावनी दिए।

सरकार गठन भएदेखि नै गल्तीबाहेक कुनै राम्रो काम गर्न नसकेको टिप्पणी गर्दै प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाति महिलालाई अनाहकमा हटाउने प्रयास पूर्ण रूपमा गलत भएको बताए।

उनले उपसभामुख इन्दिरा रानामाथि यसअघि लगाइएको आरोप पनि कपोकल्पित भएको दाबी गरे। यसैबीच सत्तारूढ दल नेकपा एमाले र नेपाली काँग्रेसका सांसदहरूले उपसभामुखविरुद्ध हस्ताक्षर संकलन गरिसकेका छन्। अहिले सत्ता गठबन्धनको बैठक सिंहदरबारमा जारी छ।