• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

एडीबीलाई सहुलियतपूर्ण ऋण सहयोग गर्न अर्थमन्त्री शर्माको आग्रह

काठमाण्डाै । अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक एडीबीलाई सहुलियतपूर्ण ऋण दिन आग्रह गर्नुभएको छ।

एडीबीका उपाध्यक्ष अशोक लाभासासँगको भेटमा अर्थमन्त्री शर्माले नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आग्रह गर्नुभएको हो । उहाँले निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इञ्जिन भएको भन्दै निजी क्षेत्रको विकासलाई उच्च प्राथमिकता राखेको पनि बताउनुभयो ।

अर्थमन्त्री शर्माले ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा लगानी आवश्यक रहेको बताउँदै त्यसमा लगानी बढाउन एडीबीलाई आग्रह गर्नु भएको हो।

मन्त्री शर्माले नेपालले सन् २०२६ सम्म अतिकम विकसित देशबाट स्तरोन्नति हुनका लागि समेत निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । यस्तै, उहाँले नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नरहे पनि त्यसको मार खेपिरहेको बताउनुभयो।

जवाफमा एडीबीका उपाध्यक्ष लाभासाले एडीबी नेपाल सरकार र नेपाली नागरिकसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई सहयोग गर्न तयार रहेको समेत बताउनु भएको छ।