तातोपानी नाका सहज रुपमा खुल्ला गर्न चिनियाँ अधिकारीसँग छलफल गरिरहेको परराष्ट्रमन्त्रीकाे भनाइ

काठमाडाैं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसँगको तातोपानी नाकालाई सहज रुपमा खुल्ला गर्न आफूले निरन्तर चिनियाँ अधिकारीसँग छलफल गरिरहेको बताएका छन् ।

आइतबार कांग्रेस नेता मोहनबहादुर बस्नेतसहित व्यवसायीहरुको टोलीसँगको छलफलका क्रममा मन्त्री खड्काले उक्त नाकालाई सहज रुपमा सञ्चालनका लागि आफूले पटक–पटक चिनियाँ अधिकारीसँग छलफल गरेको बताए ।

उनले चीनबाट सामान ल्याउनका लागि उक्त नाका सहज भए पनि पछिल्लो समय देखिएको विभिन्न समस्याका बारेमा सरकार जानकार रहेको जिकीर गरे । तिब्बतमा कोरोनाको उच्च संक्रमण रहेकाले पनि नाका खुल्ला गर्नका लागि आनाकानी भएको देखिएपछि चाडपर्वका बेला सामान आयात गर्नका लागि पनि सरकारले पटक–पटक ध्यानाकर्षण गराइएको उनले बताए । उनले आपूर्ति सहज गर्नका लागि आफू प्रयत्नरत रहने र सकारात्मक नतिजा निस्कने उल्लेख गरे ।

त्यस्तै, कांग्रेस नेता बस्नेतले नेपाली व्यापारिहरुले करौडौ लगानी गरेर सामान खरिद गरेर नेपाल भित्राउन नपाउँदा व्यवसायीहरु मर्कामा परेको बताए । उनले नेपाल सरकारको पहलमा चीनले समान भित्राउन सहजीकर गर्ने विश्वास व्यक्त गरे ।

यही क्रममा व्यवसायीहरुले बिनासकारी भूकम्पअघिको अवस्थामा तातोपानी नाकालाई सञ्चालनका लागि राज्यले गम्भीर भएर चीनसँग वार्ता गर्नुपर्ने बताएका थिए । यसअघि शनिबार केही कन्टेनरहरु उक्त नाका भएर नेपाल भित्रिएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७