प्रचण्ड र माधवका लागि एमालेमा ढोका खुला छ : दयालबहादुर शाही (भिडिओसहित)

काठमाडाैं । नेकपा एमालेले आफूविरुद्धको गठबन्धनलाई भारतको योजनाको रुपमा अर्थ्याएको छ । केन्द्रीय सदस्य दयालबहादुर शाहीले त यसलाई भारतले परिचालन गरेको लेण्डुपहरुको संज्ञा दिएका छन् ।

हुलाक सञ्चारसँग कुरा गर्दै नेता शाहीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेपछि भारत एमालेविरुद्ध लागेको बताए । त्यसपछि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेस, नेकपा माओवादी केन्द्र र माधव नेपाललाई परमादेशको सरकार गठन गरेको उनको भनाइ छ ।

शाही भन्छन्, ‘भारतले पहिलो र दोस्रो संविधानसभा असफल गराएर नेपाललाई सिक्किम बनाउन खोजेकै हो । तर दोस्रो संविधानसभाले संविधान बनाएपछि भारतको योजना सफल हुन सकेन । अहिले फेरि भारत नेपाललाई भुटान, सिक्किम या फिजि बनाउन चाहन्छ । यसका लागि गठवन्धन नामको लेण्डुपहरुको क्लव गठन गरिएको छ । यो सबै कुराको रहस्य एमालेले बुझेको छ । एमाले अध्ययक्ष केपी शर्मा ओलीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि थर्कमान छन । उनी ओलीसंग एक प्रकारले डराएका छन ।’

आउँदो चुनावमा एमालेविरुद्ध जति षडयन्त्र भएपनि ती सबैलाई चिर्दै एमाले पहिलो दल हुनेछ । कम्तिमा पनि एमालेले ७० देखि ९० सिट जित्नेछ । यसको आधार के हो भने सत्ता गठवन्धनमा कांग्रेसले भाग पाएका बाहेकका सबै दल एमालेका हुनेछन् । कांग्रेसले आफूले भाग नपाएका सिटमा विद्रोही उठाउँदैछ । त्यो अवस्थामा गठवन्धनका अन्य उम्मेदवार पत्तासाफ हुनेछन् । ती सिट एमालेका हुनेछन् ।

नेता शाहीले प्रचण्ड र माधव नेपालको समूह गल्ती महसुस गरेर ओलीसँगको एकतामा आए आफूहरुले अस्वीकार नगर्ने बताए । उनीहरुलाई फूलमाला लगाएर एमालेको यात्रामा अघि बढाउन आफूहरु लाग्ने उनको भनाइ छ ।

चुनावमा राप्रपासँगको गठवन्धनलाई देशभक्तिको आधारका रुपमा बुझन उनको आग्रह छ । कमल थापा वा राजेन्द्र लिङ्देनलाई जिताउने भन्दा पनि देश जोगाउनका लागि देशभक्तहरु एकताबद्ध भएको उनको तर्क छ ।

विस्तृत भिडिओमा :

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७