
काठमाडाैं । कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकले बिहीबार देशभरका सामुदायिक माध्यमिक विद्यालयमा ‘पेनडाउन’ गरी पठनपाठन बन्द गरेका छन् ।
सात लाख विद्यार्थी अध्ययन गर्ने ११ र १२ कक्षाका लागि ३० वर्षदेखि स्थायी दरबन्दीका शून्य शिक्षक रहेको भन्दै आन्दोलन गरिरहेका उनीहरूले पेनडाउन गरी पठनपाठन बन्द गरेका हुन्।
विद्यालयमा आधारभूत, निम्नमाध्यमिक तथा ९ र १० कक्षाको माध्यमिक तहका साथै विश्वविद्यालय तहमा मात्र स्थायी शिक्षकको व्यवस्था गरेर सरकारले लामो समयदेखि ११ र १२ कक्षालाई उपेक्षा गरी शैक्षिक गुणस्तर कमजोर बनाउने र कार्यरत शिक्षकको भविष्यसमेत अनिश्चित बनाएकाले पेनडाउन गर्न बाध्य भएको माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले जनाएकाे छ ।
साविक उमावि तहको स्वीकृत दरबन्दीमा संघीय शिक्षा ऐन लागु हुँदाका बखतसम्म कार्यरत शिक्षकलाई मावि द्धितीय श्रेणीमा एकपटकका लागि उमेरको हद नलाग्ने गरी शिक्षक सेवा आयोगबाट विशेष आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न हिस्टुनले माग गरेकाे छ ।
त्यस्तैगरी, अनुदान कोटामा शिक्षक पदलाई स्वीकृत दरबन्दीमा परिणत गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थानीय पदपूर्ति गराउन, विशेष आन्तरिक प्रतिस्पर्धामा जाँदा हाल कायम दरबन्दीलाई नै विषयगत दरबन्दी मान्न, लामो समयसम्म सेवा गरी उमेरका कारणले अनिवार्य अवकाशमा जाने र गएका शिक्षकहरुलाई सरकारबाट विशेष सुविधाको व्यवस्था गर्नुपर्ने जोड दिइएको छ ।
मावि तहमा ६ वटा विषय पठनपाठन हुने भएकाले सात हजार ८०५ दरबन्दी थप सिर्जना गरी मावि शिक्षालाई पूर्ण रुपमा निःशुल्क गर्न, प्राविधिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुलाई समेत आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न, अनुदानमा कार्यरत शिक्षकहरुलाई तत्काल स्थानीय भत्ताको व्यवस्था गर्नुपर्ने मागपत्रमा उल्लेख छ ।
सामुदायिक विद्यालयको कक्षा ११ र १२ मा अध्यापनरत दरबन्दी र अनुदानका शिक्षकहरु शिक्षा ऐनको आठौं संशोधनको दफा ३९ अनुसार मावि द्धितीय श्रेणीको शिक्षक साथै माध्यमिक शिक्षा ऐनअनुसार विश्वविद्यालयका उपप्राध्यापकसरहका शिक्षकहरु भएकाले तीन पिरियडभन्दा बढी लिन नपर्ने व्यवस्था मिलाउन पनि उनीहरुकाे माग छ ।