संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष लुईँटेल भन्छन्, चुनावबाट होइन बन्दुकबाट समाधान खोज्छौँ (भिडिओ)

काठमाडाैं । मंसिर ४ गतेको आमनिर्वाचन, नागरिकता विधेयक, प्रधानन्यायाधीशविरुद्धको महाभियोग, सत्य निरुपण सम्बन्धी विधेयक लगायतका विभिन्न राजनीतिक मुद्दाका कारण मुलुकको राजनीतिक कोर्स बदलिनसक्ने संकेत देखिन थालेका छन् ।

अन्तर्राष्ट्रिय शक्तिहरुको तीव्र चलखेल र मुलुकभित्रै वर्तमान व्यवस्थाविरुद्धका शक्तिहरुका कारण राजनीतिक परिवर्तनको सम्भावना बढेको हो ।

लामो समयदेखि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरुद्धमा आन्दोलन गरिरहेका संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुँइटेल मंसिर ४ गते चुनाव हुने सम्भावना न्यून हुँदै गएको बताउँछन् । आफूहरु पनि चुनाव बहिष्कारमा उत्रिएको र देशभर चुनावमा भाग नलिन जनतालाई अपिल गरिरहेको उनको भनाइ छ ।

वर्तमान संविधान जनविरोधी भएकाले यसलाई खारेज गरी २०४७ सालको संविधान परिमार्जनसहित लागु गर्नुपर्ने उनको धारणा छ । पश्चिमाहरुले नेपालको धर्म संस्कृति मात्र नभइ चीनको बौद्ध धर्म पनि मास्न खोजेको उनी बताउँछन् ।

गणतन्त्रवादीहरुले मुलुकलाई दिनदहाडै लुटेर विदेशी बैंकमा अरबौं रकम जम्मा गरेको तथ्य बाहिरिदा पनि कोही नबोलेको देख्दा आफू चकित परेको उनी बताउँछन् । यही अवस्था रहे मुलुकमा जनताले बन्दुक बोक्नुपर्ने दिन आउनसक्ने चेतावनी उनले दिए ।

विद्यमान राजनीतिक दल र नेताहरुबाट देश जोगिने सम्भावना नभएकाले राजसंस्था र हिन्दु अधिराज्य नै अन्तिम विकल्प भएको लुँइटेलको धारणा छ । यसका लागि नेपाली जनता सडकमा आउन अनिवार्य छ । अन्यथा सेनाले ‘कु’ गरेर भए पनि मुलुक जोगाउनुपर्ने उनको सुझाव छ ।

राप्रपाका पूर्व नेतासमेत रहेका लुँइटेलले आउँदो चुनावमा राप्रपाले एक सिट पनि नजित्ने दाबी गरे । अध्यक्ष राजेन्द्र लिङ्देनसहित महामन्त्री धवलशम्शेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, विक्रम पाण्डे सबैको शर्मनाक हार हुने उनको विश्लेषण छ । अहिले रविन्द्र मिश्रलाई पार्टीमा ल्याउन गरेको प्रयास राप्रपा तहसनहस गर्ने षडयन्त्र भएको उनको बुझाइ छ ।

विस्तृत भिडिओमा :

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७