जबराको विगतको बयानमा हस्ताक्षर गराइने, पुरक प्रश्न सोध्नेबारे समितिमा मत भिन्नता

काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई विगतको बयानमा हस्ताक्षर गराएर मात्र प्रतिप्रश्न गर्ने भएको छ । एमाले सांसदहरुले विगतको बयानमा हस्ताक्षर गराउनुपर्ने अडान राखेपछि प्रतिप्रश्न सोध्ने काम पछि धकेलिएको छ ।

समितिको सचिवालयले आज बिहान ९ बजेदेखि जबरालाई पुरक प्रश्न गर्ने तयारी गरेको थियो । तर, एमाले सांसदहरुले पहिले जबराले विगतमा बोलेका विषयका सन्दर्भमा समितिले गरेको अभिलेखमा हस्ताक्षर गराउनुपर्ने अडान लिए । हस्ताक्षरपछि आवश्यक प्रमाण संकलन गर्नुपर्ने, डकुमेन्टहरु मगाउनुपर्ने र त्यसपछि मात्र पुरक प्रश्नको सूची तयार गरेर पुरक प्रश्न सोध्नुपर्ने उनीहरुले अडान लिए ।

एमालेको अडानपछि प्रतिप्रश्न सोध्ने तयारी स्थगित गरेर समितिले जबरालाई पहिले समितिमा दिएको बयानमा हस्ताक्षर गराउँदैछ । समितिको बैठकमा सत्तारुढ गठबन्धन दल र एमालेबीच मतभिन्नता भएको हो ।

महाभियोग अन्तर्गत सोधिएको ४३ मुख्य प्रश्न र अन्य सहायक प्रश्नमाथि राणाले गरेको बयानको उतार प्रतिवेदनमा हस्ताक्षर गराउने र थप पूरक प्रश्न गर्न एमालेले माग गरेको छ ।

यता सत्ता गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले भने बयानको प्रतिवेदनमा राणालाई हस्ताक्षर गरेर थप प्रश्न नगरी अगाडि बढाउन आग्रह गरेका छन् । आजको बैठकमा बयानका लागि राणा बिहान ९ बजे संसद सचिवालय आइपुगेका थिए ।

यसअघि उनले गरेको बयानको विवरण वाचन गरेर सुनाई राणालाई हस्ताक्षर गराउने काम शुरु भएको छ । भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा महाभियोग माथिको छानविन प्रतिवेदन बुझाउने समितिको योजना छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७