
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको छ ।
शुक्रबार (सेप्टेम्बर १६) बाट लागू भएको नयाँ मूल्यअनुसार आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य अघिल्लो दिनसम्मको तुलनामा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको हो।
त्यस्तै, डिजेलको मूल्य भने प्रतिलिटर ४४ पैसा घटेको छ। अब निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा रहने छ भने डिजलमा घाटा यथावत् रहनेछ।
हाल निगमलाई डिजलमा प्रतिलिटर ६ रुपैयाँ हाराहारीमा नोक्सानी छ । उपभोक्ताका लागि निगमले पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजलको १७८ रुपैयाँ तोकेको छ ।
भारतबाट पेट्रोलको मूल्य घटेर आएपछि नेपालमा घटनेबारे निगमले केही जानकारी दिएको छैन ।
निगमले सञ्चित घाटा देखाएर मूल्य घटेर आउँदा पनि समायोजनमा बेवास्ता गर्ने गरेको छ भने बढेर आउँदा बढाउने गरेको छ ।