विश्वविद्यालयमा अश्लील भिडियो मामिला, ८ विद्यार्थीले गरे आत्महत्याको प्रयास

भारत । चण्डीगढ नजिकै एक निजी विश्वविद्यालयमा शनिबार अबेर राती कम्तीमा ८ किशोरीले आत्महत्या प्रयास गरेका छन् ।

युवतीहरुकाे उक्त प्रयासपछि विश्वविद्यालयमा हंगामा मच्चिएकाे बीबीसी हिन्दीले समाचार प्रकाशित गरेकाे छ ।

यस निजी विश्वविद्यालयका विद्यार्थीहरूले सेयर गरेको भिडियोमा एक युवतीले नुहाउने क्रममा केटी साथीहरूको भिडियो बनाएको स्वीकार गरिरहेकी छिन् । सुरुवाती जानकारीका अनुसार करिब ६० छात्राको अश्लील भिडियो बनाएर भाइरल पारिएको छ ।

ती युवतीले आफ्ना साथीहरुकाे आपत्तिजनक भिडियो बनाएर शिमलामा बस्ने एक केटालाई पठाएको र उनैले ती भिडियोहरू भाइरल बनाएको आरोप छ ।

यद्यपी घटना भएको विश्वविद्यालयले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन । आइतबार बिहान करिब ३ बजे प्रहरीको ध्यानाकर्षणमा यो विषय आएको र प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको समाचारमा जनाइएकाे छ । घटनाबारे प्रहरीले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएका छैनन् ।

विश्वविद्यालयका केही विद्यार्थीले सञ्चारमाध्यममा पठाएको अडियोमा होस्टेलका विद्यार्थीले अन्य छात्राको नुहाइरहेको भिडियो बनाएर भाइरल बनाएको सुन्न सकिन्छ ।

यसअघि यो भिडियो ४ युवतीको भएको बताइएकाे थियो तर भाइरल अडियोमा एक विद्यार्थीले यसमा केटीहरुको धेरै भिडियो रहेको र विश्वविद्यालय प्रशासनले कुनै कडा कारबाही नगरेको बताएको छ ।

क्याम्पसमा नारा लगाएर आन्दोलन गरिरहेका विद्यार्थीको भिडियो पनि बाहिर आएको छ । सुरुमा विश्वविद्यालय व्यवस्थापन आफैँले मामिला सुल्झाउने प्रयास गरे पनि स्थिति नियन्त्रण बाहिर गएको देखेर प्रहरी बोलाइएको थियो ।

पञ्जाबका शिक्षामन्त्री हरजोत सिंह बैन्सले ट्वीटमार्फत विद्यार्थीहरूलाई शान्ति कायम राख्न अपील गरेका छन् । उनले कुनै पनि दोषीलाई नछाडिने आश्वासन पनि दिएका छन् । उनले यो विषय अत्यन्त संवेदनशील र आमा दिदीबहिनीको इज्जतसँग सम्बन्धित रहेको भनी सञ्चारमाध्यमसहित आफूहरु सबै सचेत हुनुपर्ने बताएका छन् ।

विश्वविद्यालयकै अर्को भिडियोमा केही छात्राहरू अचेत अवस्थामा देखिएका छन् जसलाई स्थानीय अस्पतालमा लगिएको छ ।

बीबीसी संवाददाता गुरमिन्दर सिंह ग्रेवालका अनुसार केही छात्राहरूले आत्महत्याको प्रयास गरेका छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ ।

मिडियामा आएका समाचार अनुसार एकजना विद्यार्थीको मृत्यु भएको दाबी गरिएपनि प्रहरीले यसलाई अफवाह भनेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७