चोलेन्द्र र राष्ट्रपतिको मुद्दामा अल्झिए चुनाव प्रभावित हुनसक्छ (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व कानुन राज्य मन्त्री दिलमान पाख्रिनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र नागरिकता विधेयकको विषयमा राष्ट्रपतिको विषय धेरै उछाले आसन्न चुनाव प्रभावित हुनसक्ने बताएका छन् ।

हुलाक सञ्चारसँग कुरा गर्दै नेता पाख्रिनले मंसिर ४ गतेका लागि तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ध्यान केन्द्रीत गरेर सरकार र दलहरु अघि बढ्नुपर्ने धारणा राखे । समयक्रमसंगै प्रधानन्यायाधीशविरुद्धकोे महाअभियोग र नागरिकता विधेयक प्रमाणीकरण टुंगिने भएकाले त्यसमा अल्झिन आवश्यक नभएको धारणा राखे ।

महाअभियोग सिफारिस समितिले सभामुखलाई प्रतिवेदन बुझाइसकेको तर प्रतिनिधिसभा नभएको अवस्था भएकाले महाअभियोगको विषय टुंगीन नसकेको हो । यो अवस्थालाई हेरेर निलम्बित प्रधानन्यायाधीश राणाले जबरजस्ती सर्वोच्च अदालत फर्किन खोज्नु गलत भएको पाख्रिन बताउँछन् ।

राणाले सर्वोच्च फर्किने जिद्दी गरेकाले उनको सुरक्षार्थ सुरक्षाकर्मी पठाएको हो । यसलाई नजरबन्द भन्न नहुने पाख्रिनको तर्क छ ।

नेता पाख्रिनका अनुसार चुनावपछि आउने नयाँ संसदले महाअभियोगको विषयलाई अपनत्व लिन सक्नेछ । उनले राष्ट्रपतिले नागरिकता संशोधन विधेयक अड्काएर राख्नु गलत भएको जनाउँदै संवैधानिक दायित्वबाट राष्ट्रपति विमुख नहुने विश्वास व्यक्त गरे ।

एमाले र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गणतन्त्र र संविधान नै संकटमा परेकाले गठवन्धन बनाउनु परेको तर्क गर्दै पाख्रिनले ओलीबाट संविधान सुरक्षित हुन नसक्ने जिकीर गरे । संविधानको रक्षार्थ पदयात्रा गर्नु एमालेको ढोङ भएको उनको धारणा छ ।

आउँदो चुनावमा आफू धादिङ २ बाट उम्मेदवार बन्न चाहेको स्पष्ट पार्दै उनले टिकट नपाएपनि आफनो चित्त दुखाइ नहुने धारणा राखे । उनी भन्छन्, ‘आफूले पाए पनि ठीक छ, अरुले पाए पनि ठीक छ । ’

विस्तृत भिडिओमा :

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७