महाकाली नदीमा पक्की पुल शिलान्यास

दार्चुला । दार्चुलामा महाकाली नदीमा मोटरेवल पक्की पुलको शिलान्यास गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गरेका छन् । पुल शिलान्यासपछि आयोजित कार्यक्रममा मन्त्री बडूले नेपाल–भारत जोड्ने मोटरेवल पुलले विकासको ढोका खोल्ने बताए ।

भारत र चीनसँग व्यापार वृद्धिका लागि महाकालीमा पक्की पुल आवश्यक रहेको बताउँदै बडूले पुल बनेपछि बैतडी, बझाङलगायतका पहाडी जिल्लाका नागरिकलाई आवागमन सहज हुने जानकारी दिए ।

‘व्यापारिक एवं नागरिकलाई सहज आवागमनका लागि पनि पुल आवश्यक थियो’, उनले भने, ‘अब यहाँका नागरिकले भारत जान गड्डाचौकी र गौरीफन्टा जानुपर्ने अवस्था रहँदैन ।’

उनले दार्चुलावासीले अब ढुवानीलगायतका समस्याबाट मुक्ति पाउने बताए । पुलले दुई देशबीच धार्मिक, सामाजिक, सम्बन्ध मजबुत हुने धारणा राखे ।

दार्चुलामा पहिलो पटक महाकाली नदीमा पक्की पुल बन्ने खबरले स्थानीय बासिन्दा खुसी भएका छन् । भारत सरकारको सहयोगमा बन्ने पुलको लम्बाइ एक सय १० मिटर हुनेछ ।

जिल्ला समन्वय प्रमुख महादेव बडू (कश्यप) को अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका डीसीएम प्रशान्त श्रीस्ताव, उद्योग मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७