काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिन राप्रपा तयार भएको छ ।
बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मिश्रसँग भएको छलफलबारे जानकारी गराएकाे एक पदाधिकारीले जानकारी दिए ।
उपाध्यक्ष बुद्धिमान तामाङले भने मिश्रलाई पार्टीमा ल्याउन आफू बाधक भएको भनेर प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए । आफू बाधक नभएको बताएका उनले पार्टीमा २०/३० वर्षदेखि काम गर्दै आएका नेता कार्यकर्तालाई मानमर्दन गर्न नहुने बताए ।
सल्लाहकार परिषद्का अध्यक्ष निरञ्जन थापाले निर्वाचित उपाध्यक्षहरुभन्दा तल रहने गरी मिश्रलाई पार्टीमा ल्याउन सल्लाह दिएका छन् । राप्रपामा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की गरी चार निर्वाचित उपाध्यक्ष छन् ।
मिश्रले भने, अध्यक्ष लिङ्देनपछिको पहिलो वरियता आफूले पाउनुपर्ने माग राख्दै आएका छन् ।