पार्टी मापदण्ड मिचेर ल्याइएकाे काँग्रेसकाे समानुपातिक बन्द सूची विभेदपूर्ण छ : डिल्लीराम सुवेदी (भिडिओसहित)

नेपाली काँग्रेसका युवा नेता हुन् डिल्लीराम सुवेदी । उनी बागलुङ क्षेत्र नं १ बाट आगामी प्रतिनिधिसभा चुनावमा उम्मेदवारका आकांक्षी हुन् । यद्यपी याे क्षेत्रमा गठबन्धनको तर्फबाट राष्ट्रिय जनमाेर्चाका चित्रबहादुर केसीकाे सम्भावना बलियाे छ । गठबन्धन र काँग्रेसकाे आगामी कार्यदिशाबारे सुवेदीसँग गरिएको कुराकानीको सम्पादित अंश :

आसन्न निर्वाचनको विषयलाई लिएर नेपाली काँग्रेसभित्र असन्तुष्टिहरु बढेका छन् । शेखर कोइराला समूहले गठबन्धनलाई असफल पार्न खोजेको छ, बागी उम्मेदवार उठाउँदै छन् भन्ने आरोप लागि रहेको छ । खास कुरा के हो ?

यो एउटा मिथ्या कुरा मात्रै हो । पार्टी भित्र गठबन्धनलाई असफल पार्ने र बागी उम्मेदवार उठाउने भन्ने कुरामा कुनै सत्यता छैन । हामीले गठबन्धन भित्र भइरहेका अप्ठ्याराहरु, विवादहरु र एकलौटी ढंगबाट भएका निर्णयहरुकाविरुद्ध खबरदारी मात्र गरेका हौ । त्यसलाई पडयन्त्र भन्न मिल्दैन् । हामी काँग्रेसलाई सुदृढ बनाउनेतर्फ मात्र केन्द्रित छौँ ।

तपाईँहरुले हिजो मात्र पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध विभिन्न अभिव्यक्तिहरु दिनुभयो । एउटा त सय सिट काँग्रेसले पाउनैपर्छ अन्यता स्वीकार्य हुँदैन भन्ने तपाईँहरुको माग हो । यो बाहेक अन्य के के कुराहरुमा तपाईहरुको असन्तुष्टि हो ?

पार्टी भित्र अन्तरद्वन्द्व छन् । सय सिट पाउनु पर्छ भन्ने हाम्रो मात्र माग होइन । काङग्रेको कार्य सम्पादन समितिले गरेको आधिकारिक निर्णय हो । तर काङग्रेसले जुन समानुपातिक उम्मेदवारहरुको सूची तय गर्दा मापदण्ड तोडेको छ । प्रत्यक्ष उम्मेदवारी प्राप्त गर्ने क्षेत्रमा कम समानुपातिक, सकभर प्रत्यक्ष उम्मेदवारी प्राप्त नगरेको क्षेत्रमा समानुपातिक उम्मेदवारहरुलाई तय गर्ने, समानुपातिकको मर्म र भावना अनुसार सिमान्तकृत समुदाय, पार्टीमा लामो समय योगदान गरेको र प्रत्यक्ष ढंगबाट निर्वाचनबाट आउन नसक्ने ब्यक्तित्वहरुलाई अगाडी ल्याउन समानुपातिकको व्यवस्था गरिएको हो नि त । तर त्यो मापदण्ड अवलम्बन गरिएको छैन ।

अर्को कुरा पार्टी भित्रको शक्ती सन्तुलनलाई पनी ख्याल गरिएको छैन । समानुपातिकको बन्द सूची विभेदपूर्ण छ भन्ने कुरा पार्टीको नेतृत्व पंक्तिले भनिसकेपछि हामीले प्रश्नहरु उठायौ । अहिले गरिएका निर्णयहरु एकाधिकारपूर्ण छ, एक पक्षीय छ । त्यसले पार्टीले आफूले तयार गरेका मापदण्डहरु पनि टेक्दैन । पार्टीका मुख्य सचिव कृष्ण पौडेलले हस्ताक्षर गरेर सार्वजनिक गरिएको मापदण्डले यो कुराहरु प्रष्ट पारेको छ । तर त्यसो हुन सकेन ।

तपाईँको खबरदारीका बाबजुद पनि पार्टी सभापति शेरबहादुर देउवाले आफ्ना मान्छेहरु राख्नु भएको छ नि ? तपाईँहरु त निरिह बन्नुभयो आज ?

१६ गतेसम्म समानुपातिकको बन्द सूचीको संशाेधन गर्ने समयसीमा छ । हामीलाई विश्वास छ पार्टी सभापतिले यो विषयलाई नजरअन्दाज गर्नुहुन्न । पार्टीभित्र छलफल हुन्छ र यो चिज सम्हालिएर जान्छ ।

शेखर कोइरालाले भन्नुभएको छ की ४० प्रतिशत हिस्सा हाम्रो भागमा पर्दैन भने हामीले चुनाव बहिष्कार गर्छौँ । पार्टीभित्र न्यायपूर्ण ढंगबाट जो पपुलर छ, जसले लामो समय योगदान गरेको छ, युवा, महिला, दलित, जनजाती, मधेसी सबै जनाको सन्तुलित ढंगबाट उम्मेदवार चयन गराैँ ।

उम्मेदार भइसकेका र हुन बाँकी रहेकाहरुको बीचमा सन्तुलन मिलाऔँ । त्यसरी मिलाउने हो भने यसमा गुट नै नहेराैँ । कसले सभापतिमा शेर बहादुरलाई भोट होल्यो, कसले शेखरलाई भोट होल्यो त्यो चिज नहेरौँ, एउटा पार्टी बनेर हेरौँ । पहिलो प्रस्ताव यो हो । पार्टी सभापति छ सबैको अभिभावक होनि त । त्यसैले सबैलाई न्याय दिने हिसाबले मापदण्ड बमोजिम हिडौँ । त्यो हुँदै हुँदैन, त्यो सम्भव नै छैन भने त्यस पछि सुरक्षा अनेकन उपायहरु खोज्छाैँ ।

काङग्रेसभित्र मापदण्ड त बन्छ तर जो नेतृत्व निकट छ उसैले टिकट पाउँछ ?

काङग्रेसभित्र अलि बढी छलफल हुन्छ र असन्तुष्टीहरु बाहिर आउँछन् । जनताले पार्टीभित्र के भइरहेको छ भन्ने कुरा थाहा पाउन पर्छ र जनताकै सुझाव अनुसार पार्टीले सच्चिन पाउनपर्छ । त्यस कारण हामी खुल्ला छलफल गर्छौँ । यो काङग्रेसको सबैभन्दा समृद्ध र उज्यालो परम्परा पनि हो ।

छलफल खुल्ला गर्ने टिकट दिँदा लुकाएर दिने ?

यो कतिपय सन्दर्भहरुमा हाम्रो कमजोरी छ । मैले त्यसलाई नजर अन्दाज गर्दिनँ । तर त्यो कुरामा हामीले सच्चिनुपर्छ । सच्याउनको निम्ति त यस्तो विवादहरु, छलफलहरु भइरहेको छ । अघिल्लो निर्वाचनभन्दा अहिले सच्चिएका छौँ । अहिलेभन्दा अब सच्चिएला । हेरौँ न हामी कत्ति सच्याउन सक्छौँ ।

जोसँग शक्ति छ, जोसँग पैसा छ उसैलाई टिकट दिने प्रवृत्ति छ नि काङग्रेसमा ?

यो पछिल्लो समय विकसित भएको विकृत परम्परा हो । यसकोविरुद्ध हामी बोली रहेका छाैँ, लडि रहेका छाैँ।

काङग्रेसको विभिन्न संगठनहरु बलियो छ तर जसरी आजको दिनमा नेकपा एमालले युवा उम्मेदवार उठाइरहेको छ । नेपाली काँग्रेसमा त्यसो देखिएन ।

तपाईँले भन्नुभएको आंशिक सत्य मात्र हो । नेकपा एमालले पनी युवाहरुलाई पालो दिएको छ भन्ने कुरा म मान्दैन । एमाले पार्टी काङग्रेसभन्दा कान्छो र एमालेका केन्द्रीय सदस्यहरु पनि कान्छा छन् । तर एमालले यो पटक योभन्दा अगाडी समानुपातिकमा परेकालाई नदोहोर्‍याउने निर्णय गरेको छ । त्यसको म प्रसंसा नै गर्छु । हामीले पनी विगत देखि नै त्यस्तै गर्न खाजेका हौ तर आंशिक सफलता मात्रै प्राप्त भयो । अर्को कुरा एमालेमा कसैलै आफ्नो नेतृत्वकाविरुद्ध यसरी बोल्न सक्छ ? म त सकिरहेको छु नि । तर निर्णय हुन बाँकी छ ।

तपाईँ जस्ता युवाहरुको आवाज नेपाली काँग्रेसले सुन्छ भन्ने लाग्छ ?

म जस्ता दर्जनौँ युवा साथीहरु अबको निर्वाचनबाट संसदमा पुग्नु हुन्छ भन्नेमा म आशावादी छु ।

काँग्रेस समाप्तिको दिशातिर जादै छ भन्नेहरुलाई के भन्नुहुन्छ ?

पहिलो पटक गठबन्धनको अभ्यास भइरहेकाले काङग्रेस जस्तो ६ हजार ७ सय ४३ वडामै संगठन भएको पार्टी । सिंगै चुनाव लड्दा पनी टिकटको लागी बिरोध हुने अवस्था भइरहँदा र अहिले गठबन्धनमा रहेर सय सिटको पेरिफेरिमा चुनाव लडिरहँदा चुनौतीहरु त अनगिन्ती छन् । यो अप्ठ्यारोको बीचमा नेतृत्वले सही ढंगले बुद्धी नपुर्‍याए त दुर्घटना हुन्छ । काङग्रेस भूईँमान्छेहरुको मायाले बाचेको पार्टी हो । उनीहरुले हामीले गरेको निर्णय मान्छन् नै भन्ने छैन । यो चाहीँ काङग्रेसको लागि आजको दिनमा ठूलो चुनौती हो ।

तपाईँकै बाग्लुङ जिल्लामा एउटा सिट माओवादीलाई, एउटा सिट जनमोर्चालाई तपाईँहरुले त अब उनीहरुकै झण्डा बोकेर हिँड्नुपर्ने भयो ? अब म काँग्रेसको कार्यकर्ता हुँ भन्न तपाईँलाई गर्भ महशुस हुन्छ ?

बागलुङमा जुन एङगलबाट हेर्दा पनी पहिलो पार्टी काँग्रेस हो । हाम्रो पार्टीको जिल्ला कार्य समितिले एउटा संघ र तीन वटा प्रदेश हामीले चाहिन्छ भनेर आधिकारिक निर्णय गरेको थियो । अब योभन्दा बाहिर गएर हाम्रो गठबन्धन जोगाउनु पर्ने, हाम्रो बाध्यात्मक अवस्था छ भनेर २ वटै संघ जाने गरी निर्णय हुँदै छ भनेर जुन कुरा बाहिर आइरहेको छ यसले तल भुई तहदेखि टोल टोलमा, वडा वडामा एक किसिमको नकरात्मक सन्देश गएको छ । यही निर्णय भयो भने हामीले सम्हाल्न सक्छौँ भन्ने मलाई लाग्दैन । गठबन्धनमा रहेर अरु दलको चुनाव चिन्हमा मतदान गर्न हामीलाई समस्या छैन । तर गरिएको कुरा न्यायोचित छ की छैन भन्ने कुरा हो ।

यदी कुनै हालतमा गठबन्धन टुट्यो भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले काँग्रेस फुटाउन पनि बेर लाउँदैनन् भनेर पनि टिप्पणी गरिन्छ ? काँग्रेस प्रचण्डको शरणमा परिरहेको छ भनेर पनि भन्छन् नि ?

यसमा म कुनै दम देख्दिनँ । कुनै पनि पार्टी फुट्नु या जुट्नु मुलतः पार्टी भित्रको आन्तरिक कारण हुन्छ । अरु सहायक कारणहरु हुन् । प्रचण्डजी त्यस्तो आलङकारिक शक्तिवाला हो भने त उहाँको पार्टी सात टुक्रा किन हुन्थ्यो ? झगडा लगाउन सक्नुहोला फुटाउन सक्नुहुन्न । र अर्को कुरा काँग्रेस त्यति कमजोर धरातलमा उभिएको पार्टी हैन ।

अन्तिममा के भन्न चाहनुहुन्छ ?

मंसिर ४ गते हुन लागेको निर्वाचन एउटा एतिहासिक निर्वाचन हो । अस्तिको स्थानिय निर्वाचन पछि नेपालमा निर्वाचनमा अनेकाैँ आयामहरु थपिएका पनि छन् । स्वतन्त्र ढंगबाट धेरै उम्मेदवारहरुले सफलता हासिल पनि गर्नुभएको छ । हेर्दै गर्दा परिस्थिति तरल र तरंगीत देखिन्छ । आम नेपालीको भावना पनि म तरंगित देख्छु ।

राजनीति पनि धेरै सकरात्मक मनोविज्ञान नबनाइरहेको देखिएको छ । जनताले ठिक ढंगले छानेर, ठिक ढंगले निर्णय गरेर ठिक ढंगका मानिसहरु चुनेर पठाउनु भयो भने तपाईँलाई जे-जे खराब लागि रहेको छ त्यो हटाउने अवसर भनेको मंसिर ४ हो । त्यसकारण एकदमै धेरै निराश र नकारात्मक नहुनुहोस् । सही विवेक प्रयोग गर्नुहोस् । ठीक पात्रहरु छान्नुहोस् भन्न चाहन्छु । र कार्यसम्पादन गर्ने कुराहरुमा हाम्रा कमजोरीहरु छन् । हामीले तिनीहरुलाई सुधार्दै लैजानु पर्छ ।

हेर्नुहाेस् भिडिओ :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१