भारत । भारतका प्रहरीले कम्तीमा नौजना मानिसको ज्यान लिएको एक नरभक्षी बाघलाई शनिबार गोली हानी मारिदिएका छन् ।
चम्पारणको नरभक्षी नाम दिइएको उक्त जनावरको शिकारमा संलग्न टोलीमा करिब २०० जना प्रहरी तथा जिल्ला अधिकारीहरू रहेका थिए। उक्त बाघलाई फेला पार्न केही अधिकारीहरूले हात्ती चढेर गस्तीसमेत गरेका थिए ।
बाल्मिकी बाघ आरक्षको उक्त भाले बाघका कारण त्यस जङ्गल क्षेत्र वरपरका समुदायमा डर तथा त्रासको वातावरण फैलिएको थियो ।
संसारमा जङ्गली अवस्थामा रहेका बाघहरूमध्ये भारतमा त्यस्तो बाघको सङ्ख्या ७० प्रतिशत रहेको छ ।
जनावरहरूलाई संरक्षित अवस्थामा राखिने भारतका बाघ आरक्षहरूको आकार त्यसमा बस्ने बाघहरूको सङ्ख्या बढेको अनुपातमा बढेको छैन ।
यसकारणले गर्दा केही ठूला बाघहरू आहाराका लागि मानवबस्ती रहेका क्षेत्रमा निर्भर हुन पुग्दछन् र परिणाम स्वरूप घरपालुवा बस्तुभाउ र जनावरहरूका साथै कहिलेकाहीँ मानिसहरू पनि बाघको आक्रमणमा पर्ने गर्छन् ।