• २०८३ जेठ २२
  • 2026 June 05, Friday

युक्रेनमा मिसाइल आक्रमणमा परी १४ जनाकाे मृत्यु, रुस भन्छ- यो सुरुवातमात्र हाे

काठमाडाैं । युक्रेनको राजधानी सहर किभमा रुसले गरेको मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

युक्रेनमा रुसले गरेको आक्रमणको अमेरिकाले निन्दा गरेको छ । अमेरिकाले रुसले गैर सैन्य क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएको छ । जसमा विश्वविद्यालय र बालबालिकाको खेल्ने ठाउँ पनि सामेल छन् ।

अमेरिकाले युक्रेनलाई आगामी दिनमा पनि आफ्नो सहयोग जारी राख्ने वचन पनि दिएको छ । राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसले यो आक्रमणबाट आफू चिन्तित रहेको बताएका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो आक्रमण शनिबार क्रिमिया र रुस जोड्ने एकमात्र पुलमा भएको आक्रमणको जवाफ भएको प्रतिक्रिया दिएका छन् । युक्रेनका अनुसार सोमबार रुसले युक्रेनमा ८३ मिसाइल प्रहार गरेको थियो । जसमध्ये ४३ मिसाइललाई युक्रेनको रक्षा प्रणालीले ध्वस्त पारेको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक भिडियो जारी गर्दै भनेका छन्, ‘युक्रेनलाई कसैले तर्साउन सक्दैन, यी घटनाले उनीहरु झन् एकजुट हुनेछन् ।’

रुसले सोमबार गरेको आक्रमणको कारण युक्रेनका धेरै सहरमा विद्युत आपूर्ति पनि अवरुद्ध भएकाे छ । रुसको सेक्युरिटी काउन्सिलका डेपुटी प्रमुख दिमित्री मेटभेडेभले यो आक्रमण पहिलो एसिसोड रहेको र बाँकी एपिसोड पनि आउने बताएका छन् ।’