काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता–कार्यकर्ताहरुलाई निर्वाचनपछि आफूहरुको सरकार बनेसँगै अवसर नै अवसर दिने आश्वासन दिएका छन्।
शनिबार सत्ता गठबन्धनले विराटनगरमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रचण्डले सो आश्वासन दिएका हुन्। ‘हाम्रो सरकार बनिसकेपछि अवसर नै अवसर तपाईंहरुलाई हुनेछ,’ प्रचण्डले सम्बोधनको क्रममा भने।
साथै, उनले अन्याय भएकोजस्तो लागेकाहरुको पनि सम्बोधन निर्वाचनपछि हुने बताए। ‘जो साथिहरुलाई अलिकति अन्याय भएकोजस्तो लागेको छ तीनलाई सम्बोधन गरिनेछ,’ अध्यक्ष प्रचण्डले भने, ‘यहाँ हलभित्र रहनुभएका सबै नेताहरु, मैले सुरुदेखि तपाईंहरुलाई नेता भनेको छु, गाउँ गाउँमा पुगेर तपाईंहरुले जनतालाई सचेत गर्नुपर्नेछ।’
उनले आगामी ४ मंसिरको चुनाव सामान्य नभएको र एउटा आन्दोलन नै भएको बताए।
