राप्रपा अग्रगामी शक्ति, गणतन्त्रवादी प्रतिगमनकारी (भिडिओसहित)

काठमाडाैं । राप्रपाका नेता एवम बागमति प्रदेशका समानुपातिक उम्मेदवार राजाराम श्रेष्ठले मुलुकमा राप्रपा जस्तो अग्रगामी शक्ति कोही नभएको बताएका छन् ।

हुलाक सञ्चारसँग कुरा गर्दै नेता श्रेष्ठले राप्रपालाई प्रतिगमनकारी भन्ने गणतान्त्रिक दलहरु नै सबैभन्दा निरंकुश र प्रतिगमनकारी भएको आरोप लगाए । जसले मुलुकलाई बर्वाद पारे, सामाजिक सन्तुलन खल्बल्याए, आर्थिक अवस्था तहसनहस गरे, राष्ट्रियता समाप्त गरे, धर्म र पहिचान सिध्याए ती अग्रगमनकारी हुनै नसक्ने उनको भनाइ छ ।

नेता श्रेष्ठले राप्रपा मुलुकको विकास र समृद्धिका लागि वैचारिक, नीतिगत तथा सैद्धान्तिकरुपमा स्पष्ट भएको र सोही बमोजिम काम पनि गरिरहेकाले राप्रपा नै अग्रगमनकारी पार्टी भएको बताए ।

श्रेष्ठका अनुसार राप्रपाको लोकप्रियता निकै बढेकाले आउँदो चुनावमा राप्रपाले चमत्कारिक परिणाम ल्याउने दाबी गरे । एमालेसंग तीन ठाउँमा भएको तालमेललाई बढाईचढाई गर्न आवश्यक नभएको बताउँदै उनले राप्रपालाई एमाले नभइ एमालेका लागि राप्रपा आवश्यक भएको धारणा राखे ।

सत्ता गठवन्धनमा आबद्ध दलहरुसंग राजनीतिक मुद्दा नै नभएपछि उनीहरु एमाले र राप्रपालाई प्रतिगमनकारी भनेर हिंडेको उनको आरोप छ । आउँदो चुनावमा जनताले गठवन्धनलाई हैसियत देखाउने उनको विश्वास छ ।

आफूलाई लोकतान्त्रिक भन्ने कांग्रेस र माओवादीले देशम मात्र नभइ आफनै पार्टीमा पनि निषेधको राजनीति गरिरहेको श्रेष्ठको आरोप छ । मुलुक बनाउन परम्परागत र आधुनिक शक्ति मिल्नैपर्ने उनको भनाइ छ ।

‘गणतन्त्रका नाममा मुलुकको अस्तित्व नै संबकटमा परेकाले राजसंस्था र हिन्दू धर्म पुनर्स्थापनाको एजेण्डा झन् बलियो भएको छ । ढिलोचाँडो राजसंस्था र हिन्दुत्व फर्किन्छ ’ श्रेष्ठ बताउँछन् ।

विस्तृत भिडिओमा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१