
काठमाडाैं । किरण शर्मा नेपालवाद पार्टीका केन्द्रीय अध्यक्ष हुन् । २०६९ सालमा गठन भएको यो पार्टीले देशभक्ति र राष्ट्रियतालाई मु्ख्य मुद्दा बनाएको छ ।
मंसिर ४ गतेको निर्वाचनका लागि अध्यक्ष शर्माले काठमाडौं १ बाट उम्मेदवारी दिएका छन् । काठमाडौंकै क्षेत्र नम्बर २ र ५ बाट पनि पार्टीकातर्फबाट उम्मेदवारी दिइएको छ । पार्टीको चुनाव चिन्ह तारापु्ञ्ज रहेको छ ।
मुलुकमा प्रजातन्त्रवादी, वामपन्थी र राजावादी भनिएका कुनैपनि शक्तिमा राष्ट्रियता र देशभक्ति नभएको अध्यक्ष शर्माको निष्कर्ष छ । उनका अनुसार यी शक्तिहरुले प्रदर्शन गर्ने राष्ट्रियता सबै नक्कली हो । उनीहरुले विगतमा गरेका सन्धी, सम्झौता र निर्णयले उनीहरु राष्ट्रवादी हुनै नसक्ने प्रमाणित भैसकेको छ ।
शर्मा भन्छन्, ‘संसदलाई नागरिकता, सुरक्षा र नदीनाला बेच्ने थलो बनाइयो । यही संसदबाट मुलुकको राष्ट्रियता समाप्त पारेर देशको अस्तित्व नै संकटमा पारियो । मुलुकमा २००७ सालयताका कुनैपनि राजा, कम्युनिष्ट र प्रजातन्त्रवादी भनिनेहरु देशभक्त देखिएनन् । कांग्रेस त झन भारतीय गर्भबाट जन्मेको कहिल्यै देशभक्त भएन ।’
नेपालका प्रायः सबै दल र तीनका नेताहरु विदेशीका कारिन्दा भएकाले अब मुलुक सम्हाल्न देशभक्तहरुको अलग्गै शक्ति निर्माण अत्यावश्यक भैसकेको छ । निर्वाचनमा हार जित जे भए पनि राष्ट्रिय हितका लागि चुनावलाई आन्दोलनकारुपमा अघि बढाएको शर्मा बताउँछन् ।
नेपालको भारत र चीनसंगको खुल्ला सिमाना बन्द गर्नुपर्ने, नक्कली नागरिकता खारेज गर्नुपर्ने, आत्मनिर्भर कृषितन्त्र निर्माण गर्ने लगायतका मुद्दा बोकेर नेपालवादले बोकेको छ ।
विस्तृत भिडिओमा :