
काठमाडौं । गायक प्रकाश दूतराजले आफ्नो स्वभावबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । साेमबार उनले आत्महत्याको प्रयास गरेको खबर प्रकाशित भएपछि आफ्नो स्वभाव नै कहिलेकाहीँ एक्लै बस्ने रहेको स्पष्ट पारेका हुन् ।
कहिले बन्द कोठाभित्र घण्टौंसम्म आफैलाई थुनिदिने गरेको स्पष्ट पार्दै उनले भनेका छन्, ‘म केही छिन हराउनु म मर्नु हैन नि !’
उनले सामाजिक सञ्जाल फेसबुका लेखेका छन्, ‘कहिले हराइदिन्छु, यसैयसै… । कहिले हरियाली पाखा पखेरी । उकाली–ओराली चौतारी अनि देउरालीहरूसँगै । कहीँ उजाड बगर र मरुभूमिहरूसँगै बालुवा झैँ उडिदिन्छु । कहिले समुद्रका छालहरुले अँगाल्दै गहिराइमा पुर्याइ डुबाइ दिन्छन् । कहिले अध्यारो बन्द कोठाभित्र घण्टौंसम्म आफैँलाई थुनिदिन्छु । हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन । यसलाई रोग भनु या मेरो विशेषता । यही कारण पनि म आफूले आफैँलाई दुखी बनाउँछु ।’
आफूले धेरै समाचारहरु हेर्दा र पढ्दा अलिक अप्ठ्यारो र असजिलो महसूस गरेको पनि उनले बताएका छन् । उनले गलत बुझाइ तथा सूचनाको आधारमा समाचार प्रकाशित भएकाे पनि बताएका छन् । उनले लेखेका छन् ‘बोली मधुरो पार्दै आमाले फोन गर्नु भएको थियो । सानो दुःखले जन्माएको हुर्काएको होइन नि तिमीहरूलाई । माया गर्नेहरूको आँशुले सराप्छ । कसरी मार्न सक्थेँ र यो शरीरलाई ।’
उनले आफूलाई माया गर्ने, आशिर्वाद दिने सबैसबैमा पर्न गएको असरप्रति क्षमा पनि मागेका छन् ।