अभिनेत्री ज्याकलिनलाई अदालतले दियो जमानत

काठमाडाैं । २०० करोड भारुको मनी लाउन्ड्रिङ मुद्दामा अदालतले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ।

सोमबार पटियाला हाउस अदालतले दुई लाख भारुको व्यक्तिगत धरौटी र सोही रमक बराबरको सुरक्षा धरौटीमा जमानत दिन आदेश दिएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार उनको अन्तरिम जमानत १० नोभेम्बरमा सकिएको थियो । त्यसपछि उनले नियमित रुपमा जमानतको लागि निवेदन दिइरहेकी थिइन् ।

प्रवर्तन निर्देशनालय (इडी) ले उनको जमानतको विरोध गरेको थियो । ११ नोभेम्बरको सुनवाईमा इडीले ज्याकलिनविरुद्ध पर्याप्त प्रमाणहरू रहेको बताएको थियो ।

इडीले ज्याकलिनमाथि प्रमाण नष्ट गर्न सक्ने र विदेश भाग्न सक्ने आरोप लगाएको थियो ।

ज्याकलिनले पनि इडीमाथि आफूलाई दुःख दिएको आरोप लगाएकी थिइन् । साथै उनले यस मुद्दाको छानबिनमा पूरा सहयोग गर्ने बताएकी थिइन् ।

सुकेश चन्द्रशेखरसँग जोडिएको २०० करोड भारु प्रकरणमा इडीले ज्याकलिनविरुद्ध मुद्दा दायर गरेको थियो । सुकेशले ज्याकलिनलाई महंगा उपहार दिएका थिए ।

चन्द्रशेखर र ज्याकलिनबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । चन्द्रशेखरले ज्याकलिनलाई महंगा गहना र गाडी उपहार दिएका थिए । त्यसपछि ज्याकलिन पनि यो मुद्दामा तानिएकी हुन् ।

इडीले ज्याकलिनलाई पहिलै सुकेश अपराधी भनि थाहा भएको र उनले सुकेशसँग जबरजस्ती पैसा असुल्ने गरेको दाबी गरेको छ ।

प्रहरीका अनुसार सुकेशले ठगी गरेको रकमबाट ज्याकलिनलाई दश करोड भारूभन्दा बढीको महंगो उपहार, एउटाको ९ लाख भारु पर्ने चार वटा पर्सियन बिरालो र ५२ लाख भारू पर्ने घोडा उपहार दिएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७