युक्रेनलाई लक्षित गरेर प्रहार गरिएको मिसाइल पोल्याण्डमा खसेपछि…

काठमाडाैं । युक्रेनलाई लक्षित गरेर प्रहार गरिएको एउटा मिसाइल पोल्याण्डमा खसेको छ । यो घटनामा दुई जना मारिएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले प्रहार गरेको मिसाइल पोल्याण्डमा खसेको दाबी गरेका हुन् । तर रुसले आफ्नो संलग्नता अस्विकार गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनसँगको पोल्याण्ड सीमा नजिक कुनै मिसाइल आक्रमण गरिएको छैन ।

पोल्याण्डले पनि आफ्नो देशमा मिसाइल खसेको घटनाबारे छानविन गरिरहेको बताएको बीबीसीले जनाएको छ ।

उत्तर एटलान्टिक सहयोग संगठन नेटोले आफ्नो सदस्य देशमा भएको मिसाइल आक्रमणको घटनालाई गम्भीरतापूर्वक लिएको बताएको छ ।

नेटोले घटनाको आवश्यक छानविन गर्ने र जवाफ दिने स्पष्ट पारेको छ । रुसले जी–२० सम्मेलनकै क्रममा युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

मिसाइल पोल्याण्डमा खसेपछि जी–७ देशका प्रमुखहरुको आपतकालीन बैठक बसेको छ ।

इन्डोनेसियाको बालीमा चलिरहेको जी–२० बैठकका क्रममा जी–७ देशका शीर्ष नेताहरु छलफलमा जुटेका बीबीसीले जनाएको छ ।

अमेरिका, इटाली, जर्मनी, फ्रान्स, बेलायत, जापान र स्पेनका नेताहरूको उपस्थिति रहेको बैठकको तस्बिर सार्वजनिक भएको छ ।

उनीहरुले पोल्याण्डमा खसेको मिसाइलबारे छलफल गरेका छन् । उनीहरूबाहेक युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपियन युनियनका आयुक्त पनि यस बैठकमा सहभागी थिए ।

पोल्याण्ड नेटो सैन्य गठबन्धनको सदस्य हो । यो मिसाइल रुसबाट प्रहार भएको पुष्टि भएमा यसले द्वन्द्व थप बढाउने जोखिम रहने विश्लेषण गरिएको छ ।

© 2022 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७