• २०८३ असार ८
  • 2026 June 22, Monday

अर्को चुनावमा सयौँ सागर जन्मने, विद्रोह र विभेदविरुद्ध स्पष्ट सन्देश

काठमाडाैं । वरिष्ठ पत्रकार अनिल गिरिले सामाजिक संजालमा लेखे– गुल्मीमा जन्मे हुर्केको मान्छेले अदम्य साहस र आँट बटुलेर बहालवाला प्रधानमन्त्रीको ठाउँमा चुनौतीका साथ चुनाव लड्ने आँटलाई धेरैले गिज्याएका थिए । त्यस्तो दुर्गम जिल्लामा एक्लो प्रयास अनि स्रोत साधनको अभावमा यो तहको जनसमर्थन पाउनु कुनै मजाक थिएन । सबै साधन स्रोत सम्पन्न शेरबहादुर देउवाकाविरुद्ध चुनाव लड्ने हिम्मत सानो कुरो थिएन । सबै प्रतिकुलताका बाबजुद एउटा सामान्य परिवारको केटोले जसरी चुनाव प्रचार गर्‍यो र सबै प्रतिकुलताका बाबजुद १३ हजार ४२ मत प्राप्त गर्‍यो । कुनै बेलाका देउबाका सारथी र अहिले एमालेको समर्थनका उठेका कर्ण मल्ल भन्दा दोब्बर मत ल्याएर शानदार दोस्रो स्थान बनायो, त्यस्का लागि सागर ढकाललाई मनैदेखि बधाई ।

सागरले पाएको यो मत विद्रोह, आक्रोश अनी बिभेदको स्पस्ट सन्देश हो । स्थापित दलहरुले यो संकेत बुझेनन भने अर्को चुनावका लागि सयौ सागर ढकालहरु जन्मने निश्चित छ ।

अनिलको पोष्टमा पत्रकार पुनम पौडेलले लेखिन–मेरै मनको कुरा ।

कमेन्ट गर्ने दर्जनौँले यसलाई सागरको हार नभइ जित भएको बताएका छन् । उनीहरुले सागरले देउवा जस्तो शक्तिशाली नेता अझ बाहलवाला प्रधानमन्त्रीविरुद्ध यति धेरै मत ल्याउनु नै विजय भएको उल्लेख गरेका छन् ।

लामो समयदेखि देउवाविरुद्ध लागेका कर्ण मल्ल भन्दा दोब्बर मत सागरले ल्याउनु चानचुने थिएन । सागरले मत मात्र ल्याएका छैनन, उनले डडेल्धुरामा आफनो मनसमेत रोपेर आएका छन् । उनले त्यहाँको बोेलीबचन र लवज पनि सिकेका छन् । त्यहाँका मानिससंग मित्रता गाँसेका छन् । एउटा अटुट साइनो जोडेर उनी डडेल्धुराबाट फर्किँदैछन् ।

सागरले पाँच वर्षपछि फेरि डडेल्धुराबाटै चुनाव लड्ने घोषणा गरेका छन् । पाँच वर्षपछि चुनाव जित्ने उनको बुझाइ छ । चुनाव हारे राजनीति नै परित्याग गर्ने उनले बताएका छन् ।

प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत ल्याउँदा सागरले १३ हजार ४२ मत प्राप्त गरेका थिए ।