छलाङ मारेका सीके राउतलाई कति विश्वास गर्ने ?

काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सीको राउतले मधेसमा छलाङ मारेपनि उनीमाथि शंका उपशंका झन बढेको छ । एकपछि अर्को गर्दै राजनीतिक मुद्दामा फेरिएको अडानले उनीमाथि शंका बढाएको हो ।

मधेस केन्द्रीत जसपा र लोसपाका नेताहरुको अलोकप्रियता र गैरजिम्मेवारीपन नै सीके राउत उदय हुनुको मुख्य कारण हो । नेपाल आमालाई अश्लील गालीगर्दै राजनीतिमा आएका सीकेले शान्तिपूर्ण राजनीतिमा आएसंगै जनमतसंग्रहको माग गरेका थिए । जनमत संग्रह हुनुपर्ने प्रमुख मुद्दाकै आधारमा उनले आफनो पार्टीको नाम जनमत राखेका हुन् ।

तर, स्थानीय तहको निर्वाचनपछि सीकेले आफना सबै राजनीतिक मुद्दालाई तिलाञ्जली दिएकाछन् । उनलाई आफन्त र परिवारवादको आरोप लागेको छ ।

स्थानीय तहको निर्वाचनसंगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफन्त र परिवारका सदस्यलाई मात्र टिकट बाँडेपछि उनीमाथि यो आरोप लागेको हो ।

तुलनात्मकरुपमा उपेन्द्र यादव र महन्थ ठाकुरको समूह भन्दा सीके इमान्दार हुनसक्ने विश्वासको आधारमा उनलाई मधेसमा बलियो शक्तिकारुपमा जनताले जिताएका छन् ।

सीकेले सप्तरी क्षेत्र नं २ बाट उपेन्द्र यादव जस्तो शक्तिशाली नेतालाई दोबर भन्दा बढी मतले हराएकाछन् ।

राउतको उदयसँगै पुराना मधेशी दलहरू आत्मालोचना गर्न बाध्य भएका छन्। सीकेको उदायलाई मधेसमा “नयाँ युगको सुरुवात“का रूपमा व्याख्या गर्न थालिएको छ ।

देशकै ठूला दल वा मधेश केन्द्रित पुराना दलहरूले जनता समक्ष सेवा प्रवाहबारे कुनै ध्यान नदिएकाले आफू निर्वाचनमा होमिएको राउतको भनाइ छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीले शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकता एवं किसानका समस्यालाई मूल मुद्दा बनाएको छ ।

यी मुद्दा सम्बन्धी समस्या सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेर निर्वाचनमा होमिए पनि राउतको मधेशबारे स्पष्ट धारणा सार्वजनिक हुन सकेको छैन । मधेसलाई अलग्गै राज्य बनाउने अभियान उनले छाडेका हुन वा होइनन् प्रष्ट भएको छैन ।

कुनै समय स्वतन्त्र मधेश राज्यको मागसहित आन्दोलन गर्दै आएका विवादास्पद नेता राउतले आफ्नो पृथक्तावादी अभियान परित्याग गरेर मूलधारको राजनीतिमा आएको विश्वास गर्न गाहे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७