निर्वाचनकाे १२ दिनपछि बाजुराकाे मतगणना सुरु

काठमाडाैं । निर्वाचन भएकाे १२ दिनपछि बाजुरामा साढे ३ बजेदेखि सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार ११ बजे बोलाएको सर्वदलीय बैठकमा जुटेको सहमति अनुसार मतगणना सुरु भएको हो ।

मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना भइरहेको छ ।

निर्वाचनकाे दिन मंसिर ४ गते सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच विवाद बढेपछि बाजुरा दिनभरि तनावग्रस्त बनेकाे थियाे ।

स्थितिलाई नियन्त्रणमा लिन नौ वटा स्थानीय तह रहेको बाजुरामा सबैजस्तो पालिकामा हवाई फायर गर्नुपरेको स्थानीय प्रशासनले बताएकाे थियाे ।

जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित नाटेश्वरी मतदान केन्द्रमा मतदान सकिने बेलामा मतदानस्थलमा फर्जी मत कसले खसायो ? भन्ने विषयमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद चर्कियो । दुई पक्षीय झडप भयो । मतपेटिका खोसाखोसको अवस्था सिर्जना भएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको थियाे । सुरक्षाकर्मीले चलाएको गोलीले सोही ठाउँका २६ वर्षका सञ्जिव एडीको मृत्यु भयो । प्रहरीसहित केही घाइते भएका थिए ।

त्यसपछि जिल्लाको अवस्था झनै तनावग्रस्त बन्यो । सोही मतदान केन्द्रमा अनेरास्ववियुका केन्द्रीय सदस्य रहेको चेतन अयडी नेकपा एमालेका तर्फबाट मतदान प्रतिनिधि थिए ।

मतदान सकिएपछि कांग्रेसका कार्यकर्ताबाट उनलाई घरमै गएर निर्घात कुटपिटपछि उनको मृत्यु भएकाे थियाे ।

बाजुरामा मुख्य प्रतिस्पर्धा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डे र नेकपा एमालेका उम्मेदवार एवं सुदूरपश्चिम अध्यक्ष समेत रहेका कर्ण थापाबीच मुख्य चुनावी प्रतिश्पर्धा भइरहेको छ ।

त्यस्तै, राप्रपाको जंगकुमार गिरी, जन समाजवादी पार्टी नेपालका रामबहादुर शाही र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवाल पनि प्रतिस्पर्धामा छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७