चुनावी खर्चको असर अर्थतन्त्रमा, महंगी झन् बढ्ने

काठमाडाैं । भारतीय आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने जनाएको छ । निगम अझै २७ अर्ब घाटामा भएकाले मूल्य नघटाउने निगमको भनाइ छ ।

इन्धनको मूल्य नघट्नु भनेको महंगी कायमै रहनु हो । अर्थात्, महंगी अझै बढ्नु हो । महंगी बढ्ने कारण इन्धनको मूल्य मात्र नभइ चुनावमा भएको अरबौँ रकमको परिचालन पनि हो ।

विज्ञहरुका अनुसार चुनावमा भएको अर्बौँ रकमको परिचालनले थप महँगी निम्त्याउने छ । निर्वाचन सम्पन्न गराउन मात्रै सरकारले २० अर्ब भन्दा बढी खर्च गरेको छ । चुनावको समयमा दल र उम्मेदवारहरूले अझै ठूलो धनराशि खर्च गरेकाछन । यसको सीधा असर अर्थतन्त्रमा समेत देखापर्नेछ ।

एक महिनाअघि नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको तथ्याङ्कले महँगी दर ८.२६ प्रतिशत रहेको उल्लेख गरेको थियो । अहिले त्यो थप बढेको र चुनावपछि यसको अशर बजारमा अझ देखिनेछ । महँगी दर दोहोरो अङ्कमा पुग्नसक्ने कतिपय विज्ञहरूको धारणा छ । नेपालमा मुद्रास्फीति दोहोर अङ्कमा पुग्नसक्ने उनीहरुको बुझाइ छ ।

युक्रेन रुस युद्धका कारण इन्धन तथा खानेकुराको मूल्य वृद्धि र अकासिएको डलरको भाउले गर्दा विश्वभर नै जीविकोपार्जनको खर्च व्यापक रूपमा वृद्धि भएको भन्दै चिन्ता बढेको छ ।

निर्वाचनमा प्रयोग हुने सामग्रीको आयात गर्न रकम बाहिरिएको र मतदातालाई लोभ्याउन कैयौँ अनुत्पादक क्षेत्रहरूमा खर्च भएकाले यसको प्रभाव अर्थतन्त्रमा चाँडै देखिनेछ ।

अनुत्पादनमूलक क्षेत्रमा गरिएको खर्चले खासै सकारात्मक परिणाम नदिने विज्ञहरु बताउँछन् । निर्वाचनमा भएको खर्चले थप मूल्यवृद्धि गर्ने सम्भावना देखिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७