• २०८३ असार ११
  • 2026 June 25, Thursday

प्रदुषण जाँच पास नभएको सवारी साधनलाई पुस १ गतेदेखि १ लाख रुपैयाँ जरिवाना

काठमाडौं । प्रदुषण जाँच पास नभएको सवारी साधनहरुलाई पुस १ गतेदेखि १ लाख रुपैयाँ जरिवाना हुने भएको छ ।

वन मन्त्रालय अन्तर्गतको वातावरण विभागले पुस १ गते पछि विभागको परीक्षणमा प्रदुषण जाँच पास नभएको सवारी साधनहरुलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना हुने बताएकाे हाे ।

साथै, सवारीको मर्मत गरी तोकिएको मापदण्डको सिमासम्म मात्र प्रदुषण गर्ने बनाई जाँच पास गराएर मात्र सार्वजनिक स्थानमा सञ्चालनमा ल्याउन सबै यातायात व्यवसायीलाई अनुरोध गरेको छ ।

विभागबाट पछिल्लो समयमा गरिएको छड्के जाँचमा काठमाडौं उपत्यकामा सञ्चालन भईरहेका सवारी साधनहरुको धुँवा निस्कासनको अवस्था अत्यन्त दयनीय पाइएकोले आगामी दिनमा विभागले सवारी साधनको धुँवा निस्कासनको अवस्थाको परिक्षणलाई सघनताका साथ प्रभावकारी रुपमा गर्न लागेको एक विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘जुनसुकै समयमा वातावरण विभागबाट छड्के जाँच हुन सक्ने र प्रदुषण जाँचपासको रुपमा यस अघि जारी भएको हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदुषण जाँचपास अनुत्तिर्ण हुने सवारीलाई समेत उल्लिखित व्यवस्था बमोजिम जरिवाना लगायतका कारवाही हुने व्यहोरा अनुरोध छ ।’

साथै, आफ्नो टोल छर छिमेकमा खुला रुपमा कोही कसैले फोहोर जलाउने कार्य गरिरहेको छ भने त्यसको जानकारी वातावरण विभागमा गराउन समेत अनुरोध गरेको छ ।