नेपालमै पहिलो पटक विदेशी कलेजको व्यवस्थापन सम्हाल्दै इस्लिङटन कलेज

काठमाडौं । इस्लिङट्न कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेण्ड टिचर र आरभिआई ग्रुप बीचमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

आज चार निकायबीच सम्झौता भएपछि विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित इस्लिङटन कलेजले नेपालमै पहिलो पटक विदेशको कलेजको व्यवस्थापन जिम्मा लिएको हो ।

लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा अनलाइन बिए (अनर्स) बिजनेस प्रशासन तहको कक्षा सञ्चालन गर्ने विषयमा चार निकायबीच सम्झौता भएको हो । जस अनुसार विश्वविद्यालयले तयार गरेको पाठ्यक्रम म्यानम्यार र थाइल्याण्डमा अध्यापन हुने भएको छ । कक्षा फेब्रुअरी सेसनबाट सञ्चालन हुनेछ ।

विश्वको चर्चित मानिएको आरभिआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सम्पूर्ण सहयोग गर्नेछ । सिंगापुरमा कार्यालय रहेको आरभिआई ग्रुपले विश्वका २० शैक्षिक केन्द्र र ६ वटामा एकेडेमिक्स काम गरिरहेको छ । आरभीआईका प्रमुख कार्यकारी अधिकृत आर्गस एङगले आरभिआई ग्रुपले भियतनाम, इन्डोनेसिया, कम्बोडिया, म्यानमार, थाइल्याण्ड लगायत अन्य मुलुकमा काम गरिरहेको जानकारी दिए ।

निकट भविष्यमा चार निकायको सहकार्यम थाइल्याण्ड र म्यानमारमा अनलाईन कक्षा सञ्चालन कक्षा सञ्चालन गर्नेछौँ– प्रमुख कार्यकारी अधिकृत एङगले भने ।

इस्लिङट्न कलेजले यस साझेदारीमा विद्यार्थीको स्नातकसम्मको यात्रामा सम्पूर्ण प्रक्रियालाई सहजीकरण गरेर यस साझेदारीमा प्रमुख भूमिका खेल्नेछ । जस अन्तर्गत कलेजले विद्यार्थी परामर्श देखि भर्ना प्रकृया र विद्यार्थीको क्षमता अभिवृद्धी गराउने व्यवस्था गर्ने लगायतको मुख्य भूमिका रहनेछ ।

इस्लिङट्न कलेजका संकाय पनि मूल्याङ्कन विकास प्रक्रिया सिर्जना गर्न साथै लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको दिशानिर्देश अनुसार मार्किङ प्रक्रियाहरू सञ्चालन गर्न जिम्मेवार हुने कलेजका अध्यक्ष शुलभ बुढाथोकीले बताए । उनले भने– ‘हामी विदेशी कलेजमा व्यवस्थापन गरेर नेपालको शिक्षाा क्षेत्रमा मुख्य भुमिका खेल्न सफल भएका छौँ, यो हाम्रो मात्र होइन मुलुकमै गर्व गर्ने विषय हो ।’

यो साझेदारीमा समावेश गरिएको अर्को अग्रगामी पहल र सायद सबैभन्दा महत्त्वपूर्ण मध्ये एक, अनलाइन शिक्षाको लागि प्लेटफर्मको रूपमा माइ सेकेन्ड टिचरको प्रयोग गर्दैछ । माइ सेकेन्ड टिचरको सहयोगमा सबै पाठ्यक्रम सामग्री विद्यार्थीहरूलाई उपलब्ध गराइनेछ र तिनीहरूको असाइनमेन्टहरू पनि सोहि प्लेटफर्ममा वितरण गर्ने माइ सेकेण्ड टिचरका संस्थापक डा.बेन्सन सुङले जानकारी दिए ।

अनलाईन कक्षा सञ्चालन गर्न शिक्षकको पदपूर्तीलगायतका सम्पूर्ण काम माइ सेकेन्ड टिचरले गर्नेछ । सम्झौतापत्रमा आरभिआई ग्रुपका आर्गस एङ्ग, माइ सेकेन्ड टिचरका संस्थापक डा.बेन्सन सुङ , इस्लिङट्न कलेज र इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकी र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसीले हस्ताक्षर गरेका थिए ।

यसको आधिकारिक उद्घाटनले दक्षिण एसिया भरिका धेरै विद्यार्थीहरूलाई लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको प्रतिस्पर्धात्मक बिजनेस पाठ्यक्रममा थप पहुँच दिनेछ र साथै इस्लिङट्न कलेजका उद्योग–अग्रणी संकाय र प्रशासनिक कार्यहरू विश्वव्यापी स्तरमा दोहोरिने माध्यम प्रदान गर्नेछ ।

सम्झौतापत्रमा हस्ताक्षर पछि लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. बेन्डीले नेपालमा उत्कृष्ठ शिक्षा दिन सफल इस्लिङटन कलेजले दुई देशका कलेजको व्यवस्थापन जिम्मा लिनु महत्वपूर्ण विषय भएको बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७