
काठमाडाैं । अन्ततः कांग्रेस महामन्त्री गगन थापाको राजनीतिक यात्राको बाधक डा. शेखर कोइराला बनेका छन् । संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने थापाको अभियानमा कोइराला पर्खाल झैं उभिएपछि थापालाई समस्या भएको छ ।
कोइराला र थापा एउटै गुटका हुन् । १४औं महाधिवेशनमा युवालाई मौका दिनुपर्ने भन्दै कोइरालाले युवाहरुलाई समेटेर टिम बनाएका थिए । सोही समूहबाट थापाले महामन्त्रीमा जित निकालेका थिए । कोइराला समूहबाट उपसभापति धनराज गुरुङसहित सह महामन्त्रीमा बद्री पाण्डे, जीवन परियारलगायत विजयी भएका थिए ।
महामन्त्री थापाले कांग्रेसको सुदृढीकरण र मुलुक परिवर्तनका लागि शेरबहादुर देउवालाई निशाना बनाएका थिए । देउवा भएसम्म पार्टी नबन्ने र मुलुकपनि उँभो नलाग्ने उनको बुझाइ छ । यसका लागि पार्टी भित्रैबाट उनलाई विगतमा कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतले साथ दिएका थिए ।
१४औं महाधिवेशनमा उनले शेखर कोइरालाको दरिलो साथ पाए । तर, अहिले कोइरालालाई प्रयोग गरेर दलको नेता बन्ने थापाको अभियानमा ठेस मात्र लागेको छैन, उनको भावी राजनीतिक जीवनसमेत धरापमा परेको छ ।
कोइरालालाई थापाले संसदीय दलको नेता बनाउन अन्कनाउनु गम्भीर रुपमा हेरिएको छ । यस्तै, थापाले आफूलाई ‘अण्डरइस्टिमेट’ गरेको कोइरालाको बुझाइ छ । आफूसंग परामर्श नै नगरी थापाले दलको नेता बन्न अभियान थालेपछि कोइराला असन्तुष्ट छन् । यही कुरा अहिले थापालाई भारी परेको छ ।
कोइरालाले दलको नेता बन्ने थापाले आफूलाई प्रस्ताव गरुन् भनेर इच्छा गरेका थिए । ठीक विपरित महामन्त्रीद्वय थापा र विश्वप्रकाशले गुटवन्दी गरेपछि त्यसको घेराबन्दीमा देउवासँगै आफूपनि परेको कोइरालाले निकटस्थलहरुलाई सुनाउने गरेका छन् ।
भलै थापा र कोइराला मध्ये जो देउवासँग भिडे पनि उनीहरुबीच अविश्वासको विजारोपण भैसकेको छ । यसले कित्ता कोइराला र गगनका दुई गुट बनिसकेका छन् । आपसमै शीतयुद्ध भएपछि यसको प्रत्यक्ष फाइदा देउवालाई भएको छ ।
संसदीय दलको गणितले देउवा सहजै निर्वाचित हुने देखाएको छ । यसबाट देउवालाई दोहोरो लाभ भएको छ । एकातर्फ उनी दलको नेता बन्ने निश्चित भएको छ भने अर्कोतर्फ आफूलाई चुनौती दिने कोइराला र थापाबीच फाटो आएको छ । यो फाटो दीर्घकालसम्म रहनेछ ।
गगनले दलका नेता हुन आफ्नै गुट भित्रका नेताहरुलाई बेवास्ता गरेको आरोप लागेको छ । स्वयं उपसभापति धनराज गुरुङले पनि गगनलाई साथ दिन नसकिने आशय व्यक्त गरिसकेका छन् यद्यपी दुवैलाई मिलाउन उनले भूमिका खेलिरहेका छन् ।
जुन प्रकारले गगन अघि बढिरहेका छन् यसले विगतमा उनलाई सफलता मिलेपनि अब भने उनको राजनीतिक यात्रा ओरालो लाग्ने विश्लेषण गरिएको छ । पार्टीका नेताहरुलाई प्रयोग गरेर माथिमाथि उक्लिदै जाने गगनको स्वभावसँग नेताहरु दिक्क भएका छन् ।
पार्टीकै वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, भिमसेनदास प्रधान लगायतले गगनले धोकापूर्ण राजनीति गर्ने गरेको आरोप लगाउने गरेका छन् । यसपटक त झन् गगनमाथि चुनावमा अन्तरघात गरेको आरोपसहित पार्टीमा उजुरी परेका छन् ।
गगन पार्टीमा एक्लिँदै गएका बेला उनलाई अन्तिम घडीमा शेखरले साथ दिइरहेका थिए । तर, यसटक शेखरले समेत धोका पाएको महसुस गरेका छन् । उनले आगामी दिनमा गगनलाई साथ दिने सम्भावना कम देखिन्छ ।
अब गगन सभापति देउवाको गुटमा मात्र जान बाँकी छ । देउवासँग मिलेर अघि बढे उनको राजनीति उकालो लाग्न सक्छ अन्यथा कोइराला क्याम्पमा भने उनलाई सहयोग हुने छैन । पहिलो तगारोको रुपमा शेखर नै उभिने निश्चित छ ।