गगन थापाले गरे आफू सरकारमा नजाने घाेषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले सरकारमा नजाने घोषणा गरेका छन् ।

बुधबार नेपाली कांग्रेस संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि महामन्त्री थापाले आफू सरकारमा नजाने र कांग्रेस नेतृत्वको सरकार बनाउन पहल गर्ने बताए ।

उनले भने,’कांग्रेस नेतृत्वको सरकार बन्यो भने अरु साथीहरु जानुहुन्छ । पार्टीमा रुपान्तरण र पुस्तान्तरणको आवश्यकता छ। मेरो सोचाइ पनि यही हो र म त्यसमै लागिरहन्छु ।’

आगामी दिनमा संसदीय दलकै नेता बन्ने तयारीमा लाग्ने उनको भनाइ छ । थापाले मतपरिणामले आफू निराश नहुने बताए। उनले भने,’ म यो मतपरिणामले निराश हुन्न । बरु थप मिहिनेत गर्छु्। एउटा समय आउँछ साथीहरुले यसलाई महशुस गर्नुहुनेछ ।’

थापाले पार्टीभित्र राष्ट्रपति,प्रधानमन्त्रीलगायत विभिन्न पदमा छलफल गरेर पारदर्शी ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिए । पार्टीको संसदीय दल र आधिकारिक समिति वेगर छलफल भए त्यो व्यक्तिगत हुने उनको भनाइ छ ।

उनले आजैबाट नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताए ।

महामन्त्री थापा कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति देउवासँग पराजित भएका छन् । देउवाले ६४ मत ल्याउँदा गगनले २५ मत प्राप्त गरे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१