उत्तरी छिमेकी चीनले नयाँ विदेश मन्त्रीको नाम सार्वजनिक गरेको छ। डेढ वर्षअघि मात्रै संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत बनेका छिन काङलाई नयाँ विदेश मन्त्री नियुक्त गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
५६ वर्षीय काङले अहिलेका विदेश मन्त्री वाङ यीको ठाउँ लिनेछन्।
१० वर्ष चीनको विदेश मन्त्री बनेका यी गत अक्टुबरमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनबाट पार्टी पोलिटब्युरो सदस्य चुनिएका छन्। यीले कहिले पद छोड्छन् र काङले विदेश मन्त्रीको जिम्मेवारी सम्हाल्छन् भन्ने स्पष्ट छैन। चीनमा नयाँ संसदको पाँच वर्षको अधिवेशन मार्चमा सुरू हुन्छ र त्यतिबेला नै प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदहरूको नयाँ कार्यकाल सुरू हुन्छ।
चिनियाँ विदेश मन्त्रालयमा लामो समय काम गरेका काङले राजदूतका रूपमा बेलायतमा पनि काम गरेका छन्।
सन् १९६६ मा जन्मिएका काङले १९८८ मा सर्भिस ब्युरो फर डिप्लोम्याटिक मिसनमा काम सुरू गरेका थिए।
सन् १९९२ देखि १९९५ सम्म उनले विदेश मन्त्रालयको पश्चिम युरोप मामिलासम्बन्धी विभागमा काम गरेका थिए।
भ्कभधबलष्अ
बेलायतको राजदूत हुनुअघि उनले त्यही दूतावासमा काम गरेका थिए। दुई पटक चिनियाँ विदेश मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्दा उनी निकै कडा रूपमा चीनको आन्तरिक र बाह्य नीतिको रक्षा गर्थे। चीनको ‘वुल्फ वारियर’ कूटनीतिज्ञमध्ये एक जना उनी पनि हुन्।
२०१७ मा उनी चिनियाँ विदेश मन्त्रालयको प्रोटोकल विभागका महानिर्देशक भएका थि भने २०१८ देखि २०२१ मा उनले उपविदेश मन्त्रीको जिम्मेवारी पाएका थिए।
राष्ट्रपति सीका विदेश भम्रणको सबै चाँजोपाँजो मिलाउनमा उनको प्रमुख भूमिका हुन्थ्यो। यो बीचमा उनी सीका विश्वासपात्र बनेका थिए।
कोरोना महामारी र व्यापार युद्धले अमेरिकासँगको सम्बन्ध नाजुक बनेका बेला सीले काङलाई राजदूत बनाएर अमेरिका पठाएका थिए। अमेरिकी राजदूत बनेपछि उनले दुई देशको सम्बन्धबारे आफ्नो स्वभावअनुसार तीखो टिप्पणी गरेनन् बरू दुई देशको सम्बन्ध बलियो बनाएर अघि बढाउन साझा धरातल रहेको बताएका थिए।
अमेरिकामा रहँदा उनले सिन्जियाङ, हङकङ र ताइवान मुद्दामा आफ्नो कुरा खरो रूपमा राख्थे।
सीसँगको निकटताकै कारण काङ निकै छिटो विदेश मन्त्रालयको जिम्मेवारीमा आइपुगेको बताइन्छ। गत अक्टोबरको राष्ट्रिय सम्मेलनले उनलाई चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बनाएको थियो।
सामाजिक सञ्जालका सक्रिय प्रयोगकर्ता काङले ट्विटरका नयाँ मालिक एलन मस्कसँग गाडीमै कुराकानी गरेको तस्बिर पनि सार्वजनिक गरेका थिए।
विदेश मन्त्री नियुक्त भएपछि पहिलो पटक जारी गरेको वक्तव्यमा उनले भनेका छन् हाम्रा साझा चुनौतीको समाधानका लागि चिनियाँ कूटनीतिले चिनियाँ ज्ञान, चिनियाँ प्रयास र चिनियाँ शक्ति दिनेछ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित।)