
प्रतिनिधिसभामा पहिलो दल भएर पनि गठबन्धन जोगाउन नसक्दा प्रतिपक्षमा बस्न पुगेको नेपाली कांग्रेसभित्र अहिले आरोप–प्रत्यारोप चलेको छ । शेखर कोइराला पक्षले पार्टी सभापति शेरबहादुर देउवाको कारणले गठबन्धन जोगाउन नसक्दा सातै प्रदेशमा कांग्रेस सरकारविहीन बन्न पुगेको बताइरहेका छन् भने संस्थापनपक्ष यो मान्न तयार देखिँदैन । संस्थापन पक्षले महामन्त्रीद्वय लगायत शेखर पक्षको पनि कमजोरी औंल्याइरहेको छ ।
गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बामलोकतान्त्रिक गठबन्धन बनाएर नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजबादी, राष्ट्रिय जनमोर्चा तथा लोकतान्त्रिक समाजवादी पार्टी मिलेर निर्वाचनमा होमिएका थिए । निर्वाचनमा जानु अघि गठबन्धनको बहुमत आउने र नयाँ सरकार बनाउने दलहरुबीच सहमति भएको थियो । तर निर्वाचनको मत परिणाम सोचे अनुसार हुन सकेन ।
बहुमतका लागि १३८ सिट चाहिनेमा नेपाली कांग्रेसको ८९, माओवादी केन्द्रको ३२, नेकपा एकीकृत समाजवादीको १०, जनमोर्चाको १ र लोसपाको ४ सिट गरी जम्मा १३६ सिट मात्र आयो । नयाँ सरकार गठनका लागि चाहिने बहुमत उनीहरुको पुगेन । विभिन्न साना दललाई मिलाएर बहुमतसहित सरकारमा जाने योजनामा रहे पनि आपसमा सहमति जुट्न नसक्दा गठबन्धन नै फुट्न पुग्यो ।
प्रतिनिधि सभामा ८९ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने स्थिति निर्माण भयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा मध्ये पहिले को प्रधानमन्त्री बन्ने भन्नेमा सहमति जुट्न नसक्दा गठबन्धन फुटेको हो ।
माओवादी अध्यक्ष दाहाल एमालेलगायत अन्य सानादलसँग सहमति गर्दै प्रधानमन्त्री बन्न सफल भए । नयाँ गठबन्धनबाट दाहाल प्रधानमन्त्री बनेसँगै कांग्रेस केन्द्रदेखि सातै प्रदेशमा प्रमुख प्रतिपक्षी भूमिकामा पुगेको छ । यसले कांग्रेसमा आन्तरिक द्वन्द्व चर्काएको छ ।
माओवादीलाई प्रधानमन्त्री छाडेर राष्ट्रपतिलगायत पद लिएर जानुपर्नेमा नेतृत्वबाट गल्ती भएको भन्दै सभापति देउवामाथि दबाब सृजना गरिँदैछ ।
तर, के कांग्रेस सत्ताविहीन हुनुमा पार्टी सभापति मात्र जिम्मेवार छन् त ? के अन्य पदाधिकारी र कार्य सम्पादन समितिका व्यक्तिहरु यस्को भागिदार छैनन् ? कतै उनीहरु पार्टी सभापतिलाई दोष लगाएर आफू पानीमाथिको ओभानो बन्न त खोजेका छैनन् ? कार्यकर्ताहरुको मनमा यस्ता प्रश्न पनि उठ्न थालेका छन् ।
यी प्रश्नको उत्तर खोज्न एकैछिन पृष्ठभूमिमा जाऔँ । निर्वाचनका बेलादेखि नै घरदैलो होस् या अन्य सार्वजनिक कार्यक्रममा कांग्रेसभित्र पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको आवाज उठाए गगन थापाले । उनले प्रधानमन्त्रीमा आफ्नो दाबी पनि पेश गरे । त्यही क्रममा दलको नेतामा पार्टी सभापति देउवासँग निर्वाचनमा भाग पनि लिए । तर, ८९ सदस्यीय प्रतिनिधि सभा सदस्य रहेको कांग्रेसमा देउवाले ६४ र थापाले २५ मात्र भोट पाए । निर्वाचनमा परिणाम आफ्नो पक्षमा पार्न नसकेका थापाले फेरि दलकै नेतामा उठ्ने तर तत्काल मन्त्री नबन्ने प्रतिक्रिया दिए ।
यता सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा सकिन लागेको थियो भने गठबन्धनभित्र सहमति बन्न सकिरहेको थिएन । त्यो गम्भीर समयमा पार्टीका महामन्त्रीद्वय भने लिट्रेचर फेस्टिभलमा सहभागी हुन पोखरा पुगे । उनीहरुले गठबन्धन भत्किएको र कांग्रेस सत्ताबाट बाहिरिएको त्यहीँ थाहा पाएको बताएका छन् ।
सर्वसाधारणको प्रश्नमा महामन्त्री थापाले आफू सभापतिको फोन आउला र बैठकमा जाउँला भनि कुरेर बसेको तर फोन नआएर अपमानित भएर पोखरा आएको बताएका थिए ।
अब प्रश्न उठ्छ, अन्य बेला पार्टीका महत्वपूर्ण कुरामा हस्तक्षेप गर्न खोज्ने थापा सत्ता समीकरण जस्तो महत्वपूर्ण कुरामा किन पन्छिन खोजे ? जब कि पटक पटक बसेको बैठकमा सहमति जुट्न सकेको थिएन भन्ने कुरा सार्वजनिक भैरहेको थियो । थापालगायत अन्य पदाधिकारीले आफ्नो तर्फबाट माओवादीलगायतका नेताहरुसँग किन संवाद गरेनन् ? यो विषयमा पुष २२ गते बस्ने कांग्रेसको केन्द्रीय बैठकले जवाफ त अवश्य माग्ला ।
यसको मतलब यो होइन कि देउवालाई सफाइ नै दिनुपर्छ । हो, यसपटक देउवाको जिद्दी र उनका सल्लाहकारहरुको गलत सल्लाहको शिकार सिंगो कांग्रेस बन्न पुग्यो । जसको कारण जनताले पहिलो दल बनाए पनि सातै प्रदेश तथा केन्द्रमा सरकारबाट हात धुने परिस्थिति बन्यो ।
यो राजनीतिक दाउपेचमा किङ मेकर एमाले र यसका अध्यक्ष केपी शर्मा ओली बन्न पुगे । भित्र–भित्रै माओवादी केन्द्रका अध्यक्ष दाहालसँग संवाद बढाएका ओलीले अन्तिम समयसम्म पनि सुइँको दिएका थिएनन् । उनले प्रचण्ड प्रधानमन्त्री हुनै नसक्ने अभिव्यक्ति दिइरहेका थिए । उनको अभिव्यक्तिले कतै कांग्रेस र एमाले मिलेर सरकार त बनाउँदैैनन् भन्ने भान प्रचण्डलाई पनि पर्न गएको थियो ।
उता कांग्रेस तत्कालीन नेकपा फुटेपछि शत्रुवत् ब्यवहार गरेका ओली र प्रचण्ड मिलेर समीकरण बनाउनै सक्दैनन् भन्नेमा ढुक्क थियो । जसको कारण पछिल्लो समय ओली नै किङ मेकर बनेर उदाए । यसबाट कांग्रेसले पाठ सिक्नुपर्ने देखिएको छ ।
त्यसैले पनि यो अवस्था आउनुमा देउवाको बढी गल्ती भए पनि अन्य पदाधिकारीहरु पनि जिम्मेवार रहेको विश्लेषण गर्न थालिएको छ । अबका दिनमा विगतका गल्तीबाट पाठ सिक्दै पार्टी संगठन मजबुत बनाउँदै, कुशल प्रतिपक्षको भूमिका निभाउनु नै कांग्रेसका निम्ति बुद्धिमानी हुनेछ ।