
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
तर, थुनामुक्त भएपनि उनका गतिविधिमाथि निगरानी गरिने भएको छ ।
अदालतको आदेश अनुसार लामिछानेले उपत्यका छाड्दा पनि प्रशासनको अनुमति लिनुपर्नेछ ।
मुलुकबाहिर जान चाहिँ प्रतिबन्ध लगाइएको छ । उच्च अदालत पाटन स्रोतका अनुसार उनको गतिविधिलाई प्रहरीले निगरानी गरिरहने पनि भनिएको छ ।
न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले यो आदेश दिएको हो ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।