• २०८३ असार ९
  • 2026 June 23, Tuesday

आज प्रदेश १ ले उपसभामुख र गण्डकी प्रदेशले सभामुख पाउने

काठमाडौं । प्रदेश नं १ प्रदेशसभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ । प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा ९एमाले०की सिर्जना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेशसभाको आज बिहान ११ बजे बस्ने वैठकले मतदान प्रकियाद्वारा उपसभामुखको चयन गर्ने छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको छ, नेकपा (एकीकृत समाजवादी) को चार र जसपाको एक सदस्य गरी ९३ सदस्य रहेका छन् ।

यसैबिच, आज गण्डकी प्रदेशमा सभामुखको निर्वाचन हुदैँ छ । सभामुखमा माओवादीका कृष्ण धिताल हुने निश्चित छ । गण्डकी प्रदेश सभाको सभामुखमा नेकपा माओवादी केन्द्रकातर्फबाट गोरखा १ (क) बाट निर्वाचित कृष्ण धिताल हुने करिब निश्चित छ । एमाले नेतृत्वमा बनेको सत्ता गठबन्धनमा गण्डकीमा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादीले पाउने सहमती यसअघिनै भएको थियो ।

सभामुखको निर्वाचन कार्यक्रम घोषणासँगै आफ्नो भागमा परेको सभामुख पदमा कस्लाई पठाउने भनी शुक्रबारै संसदीय दलको बैठक समेत बसेको थियो । बैठकले धिताललाई उम्मेदवार बनाउने निणर्य गरेको दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

यसैगरि प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस संसदीय दलको बैठक समेत शुक्रबार बसेको थियो । बैठकमा कसैले पनि सभामुखको लागि उम्मेदवार हुन इच्छा जाहेर नगरेकाले पार्टीले सभामुखमा कसलाई अघि सार्ने भन्ने निणर्य गर्न संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई जिम्मा दिएको छ । पाण्डेले शनिबार बिहानसम्ममा नाम टुंगो लगाउने बताइएको छ ।६० सदस्य प्रदेश सभामा काग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सांसद रहेका छन् ।