१८ दिनदेखि बेपत्ता बालकको शव गाडिएको अवस्थामा फेला, आमा र साैतेनी आमा पक्राउ

डडेल्धुरा । डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको छ ।

घरनजिकै खाल्डोमा पुरिएको शव निकालिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जानकारी दिएकाे हाे ।

हत्याको कारण खुल्न सकेको छैन ।

घटना अनुसन्धानका लागि मृतक बालककी आमा र सौतेनी आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनुसन्धानका लागि बालककी आमा ३४ वर्षीया कलामती बोहरा र सौतेनी आमा ३० वर्षीया जानकी बोहरालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे हो ।

मृतक बालक बोहराको घरमा दुई आमा र उनका दाइ बस्थे । बुवा रोजगारीका लागि भारतमा छन् ।

डाँडाखर्कका बोहरा पुस १२ देखि घरपरिवारको सम्पर्कमा थिएनन् ।

पुस २७ गते स्थानीय दानबहादुर विष्टले बालक हराइरहेको सूचना प्रहरीलाई दिएका थिए । त्यसपछि घरपरिवारसँग बुझ्दा बालक १२ गतेदेखि सम्पर्कमा नरहेको खुलेको थियो ।

बालकको हत्या गरेर शव खाल्डोमा पुरिएको शंका लागेपछि विज्ञ टोली लिएर प्रहरीले उत्खनन् गर्दा शव फेला परेको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१