काठमाडौं । मधेश प्रदेशसभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेका मण्डललाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाहेकका अरु राजनीतिक दलले समर्थन गरेका छन् ।
सत्तारुढ गठबन्धनको भागवण्डामा मधेशको सभामुख नेकपा एमाले र उपसभामुख जनमत पार्टीले लिने सहमति छ । सभामुखमा सत्ता गठबन्धन भन्दा बाहिरबाट नेपाली कांग्रेसका जंगीलाल रायले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् । रायलाई एकीकृत समाजवादीले समर्थन गरेको छ ।
प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले पहिलो, २२ सांसदसहित नेपाली कांग्रेस दोस्रो र १६ सांसदसहित जनता समाजवादी पार्टी (जसपा) तेस्रो र १३ सांसदसहित जनमत पार्टी चौथो दल छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीको ७ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् ।
सभामुख चयनका लागि माघ २ गते मतदान हुँदैछ ।
यता नेकपा एमालेले सुर्खेतकी नन्दा गुरुङलाई कर्णाली प्रदेशको सभामुखको उम्मेदवार बनाएको छ । भने नेपाली कांग्रेसबाट खड्क पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । एमाले प्रदेशका नेताहरूको शनिबार बसेको बैठकले सभामुखका लागि गुरुङको नाम टुंगो लगाएको हो ।
सुर्खेतकी गुरुङ समानुपातिक सांसद हुँन् । सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ भने उप-सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एक/एक जना सांसद रहेका छन् ।
कर्णाली प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसबाट खड्क पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
पोखरेलले शनिबार दिउँसो प्रदेश सभामा पुगेर उम्मेदवारी दिएका हुन् ।