अफगानिस्तानकी पूर्वसांसदको गोली हानी हत्या

काठमाडाैं । अफगानिस्तानकी एक जना पूर्वसांसदको गोली हानी हत्या गरिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार काबुलस्थित आफ्नै घरमा उनलाई अज्ञात समूहले गोली हानेको हो ।

आइतबार भएको उक्त आक्रमणमा पूर्वसांसद ३२ वर्षीया मरसल नविजादा र उनका सुरक्षा गार्ड मारिएका छन् भने उनका भाइ घाइते भएका छन् ।

प्रहरीले हत्याको गम्भीर अनुसन्धान भइरहेको बताएको छ ।

सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गर्नुअघिसम्म नविजादा अफगानिस्तानकी सांसद थिइन् ।

अमेरिकी सैनिक फिर्ता र तालिबानद्वारा काबुल कब्जा भएपछि धेरै राजनीतिज्ञले अफगानिस्तान छोडेका थिए। नविजादा भने स्वदेशमै बसिरहेकी थिइन् ।

उनी सन् २०१८ मा काबुलबाट तत्कालीन संसदको तल्लो सदनका लागि निर्वाचित भएकी थिइन् ।

तालिबानहरू फेरि सत्तामा आएपछि अफगानिस्तानमा महिलाहरूलाई सार्वजनिक जीवनमा निषेध गरिएको छ । छात्राहरूलाई विद्यालयदेखि विश्वविद्यालयसम्म प्रतिबन्ध लगाइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१