विभिन्‍न हतियारसहित बुटवलबाट दुई जना पक्राउ

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ देवीनगरबाट विभिन्न हतियारसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गुल्मी मालिका गाउँपालिका-४ अर्खावाङ बस्ने ३५ वर्षीय नविन चन्द्र रेग्मी र कन्चनपुर गणेशपुर नगरपालिका-२ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले शंका लागि उनीहरुलाई जाँच गर्ने क्रममा नविनको साथबाट १ थान रिभल्वर फेला परेपछि दुवै जनालाई पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा सैनामैना नगरपालिका-१ पर्रोहास्थित नविनको कोठामा तलासी गर्दा गोली ३५ राउण्ड, तयारी डेटोनेटर ३ थान, डेटोनेटर केस ६० थान, डेटकर्ड ४ मिटर समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१