काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक पदहरुको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न प्रस्ताव गरेका छन् ।
बालुवाटारमा मंगलबार बसेको विश्वासको मत दिने दलहरुको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख लगायतमा सहमतिका साथ अघि बढ्न प्रस्ताव गरेका हुन् ।
सरकारका सन्दर्भमा सत्ता साझेदार दलबिचको सहमति नै लागू हुने भन्दै प्रचण्डले संवैधानिक पदहरुको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न प्रस्ताव गरेकाे सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा आफूले त्यसको सहजीकरण गर्ने समेत प्रधानमन्त्रीले धारणा राखेका थिए । त्यस्तै, बैठकमा प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिएका थिए ।
विश्वासको मतलाई सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएकाले प्रतिपक्षले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक भएको र त्यसले राष्ट्रिय सहमतिको सन्देश दिएको प्रचण्डको भनाइरहेको मन्त्री शर्माले जानकारी दिइन् ।
बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले संवैधानिक पदहरुको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न प्रस्ताव गरेकाे जानकारी दिए । उनले कांग्रेसले प्रमुख प्रतिपक्ष भए पनि मिलेर जान सकिने धारणा राखेको बताए । राष्ट्रपति र सभामुखको विषयमा पार्टी भित्र आन्तरिक छलफल गरेर टुङ्गो लगाउने उनकाे भनाइ छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी लगायत सरकारलाई विश्वासको मत दिने दलका नेताहरुले सरकारलाई सफल कार्यकालको शुभकामना दिएर सबैलाई समेटेर अघि बढ्न सुझाव दिएका थिए ।