प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्न अन्तर्राष्ट्रिय सेमिनार सञ्चालन

काठमाडौं । प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षणबारे ज्ञान आदानप्रदान सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंमा सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा सेमिनारको उद्घाटन गर्नुभएको हो ।

सेमिनार यही माघ ८ गतेदेखि भारतीय राजदूतावास, काठमाडौंमा सञ्चालन भईरहेको छ । अन्तर्राष्ट्रिय सेमिनार मार्फत प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षणबारे ज्ञान आदानप्रदान हुने आयोजकले जनाएको छ ।

दुवै देशका सांस्कृतिक सम्पदा क्षेत्रमा अनुसन्धान, नीति र अभ्यासबीचको सम्बन्धलाई सुदृढ गर्ने र विज्ञहरुको स्थलगत अनुभवहरुबाट हासिल उत्कृष्ट अभ्यासबारे ज्ञान आदानप्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

भारतीय राजदूतावाससँगको सहकार्यमा भारतीय राष्ट्रिय ट्रस्ट वा कला र सांस्कृतिक सम्पदा (INTACH) ले सो सेमिनारको आयोजना गरेको हो ।
५० मिलियन अमेरिकी डलरको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत नेपालका ७ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण भइरहेको छ । १२ वटा सम्पदा क्षेत्रका लागि भारतीय राष्ट्रिय ट्रस्ट वा कला र सांस्कृतिक सम्पदाले प्राविधिक विशेषज्ञता प्रदान गरेको बताएको छ ।

सेमिनारमा विभिन्न प्राविधिक सत्रका साथै सहभागीहरुसँग अन्तरक्रिया र विभिन्न संस्थासँग आवद्ध भई प्राकृतिक एवम् सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा काम गरिरहेका विज्ञसँग छलफल भएको थियो ।

नेपाल सरकारका पदाधिकारी, अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधि, निर्माण व्यवसायी र सम्पदा संरक्षणको क्षेत्रमा कार्यरत विज्ञको सेमिनारमा उपस्थिति थियो । यो सेमिनार “आजादीका अमृत महोत्सव” अन्तर्गत दूतावासले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम मध्येको एक हो ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७