हेलिकप्टर पाइलटलाई कुट्ने ६ जना पक्राउ, पाइलट निलम्बित

काठमाडौं । स्याङ्जाको वालिङमा प्रभूको हेलिकप्टरका पाइलटलाई कुटेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेलिकप्टर ल्याण्ड गराउने यात्रु बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम ब. राना तथा खेल आयोजक यामबहादुर गुरूङ, सुरेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले बताए ।

पक्राउ परेका उनीहरुमाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दामा दुई दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माघ ५ गते स्याङ्जाको वालिङमा फुटबल खेल भइरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि पाइलट र यात्रुमाथि हातपात गरिएको थियो ।

वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकप्टर चार्टर गरेर वालिङ लगेका थिए । उनीहरुले नै मैदानमा हेलिकप्टर उतार्न दबाव दिएपछि पाइलट रानेश डंगोलले ल्याण्ड गरेका थिए ।

यस्तै, खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने प्रभुका पाइलट रनेश डंगोललाई नागरिक उड्डयन प्राधिकरणले निलम्बित गर्ने निर्णय गरेको छ।

माघ ५ गते वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा बिनाअनुमति हेलिकप्टर अवतरण गरेको ठहर गर्दै पाइलट डंगोललाई कारबाही गरिएको प्रधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भइरहेको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७