नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) को अध्यक्ष पदमा चार जना आकाङक्षी

काठमाडौं । नेपाली फिल्ममा काम गर्ने प्राविधिकहरूको एक मात्र छाता संगठन चलचित्र प्राविधिक संघ (नेफ्टा) ले अगामी फागुन ११ मा महाधिवेशन तोकेको छ । पुष्कर लामा अध्यक्ष रहेको कार्यसमितिले संघको नवीकरण नगरेको, लामो समयदेखि साधारण सभा नगरेको, संस्थाको आयव्यय समेत व्यवस्थित नगरेको भन्दै संघमा आवाज उठेपछि महाधिवेशनको मिति तय गरिएको थियो।

महाधिवेशन मिति तय भएसँगै नेतृत्व गर्न प्राविधिकहरू अगाडी आएका छन्। तीन हजार पाँच सय हाराहारीमा सदस्य रहेको संघमा कतिपय पुरानै कार्यसमितिका सदस्य उम्मेदवार बन्ने तरखरमा छन् भने कतिपय नयाँ अनुहार देखिएका छन् । नेतृत्वका लागि ४ जनाको नाम चर्चामा छ। अध्यक्ष पुष्कर लामासहित अनन्त घिमिरे, शंकर पाण्डे र प्रकाश महराले नेतृत्वको लागि छलफल सुरू गरेका छन् ।

पुष्कर लामा मिल्यो भने फेरि एक कार्यकाल दोहोर्‍याउने दाउमा छन् । कोरोनाको कारण काम गर्न नसकिएको र गर्न खोजिएको काम केही अधुरो रहेकोले ती कार्य गर्न समेत आफूलाई पुनः अध्यक्ष दिनुपर्ने धारणा लामाको रहँदै आएको छ । उनले माघ २५ गतेपछि मात्र चुनावी चहलपहलमा सहभागी हुने बताएका छन् ।

त्यस्तै संघका पूर्वमहासचिव समेत रहेका अनन्त तिमल्सिनाले भने नेफ्टामा अब आफूले नेतृत्व गर्न पाउनुपर्ने अडान अगाडि सार्दै आएका छन् । नेफ्टाको विभिन्न पदमा रहेर पटक–पटक गरेको कामको अनुभवले नेफ्टा हाँक्ने क्षमता आफूसँग भएको उनको धारणा छ । उनले सामाजिक सञ्जाल फेसबुकमा एजेन्डा सहित उनले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

नेपाली चलचित्र प्राविधिकहरूको हक र अधिकार सुनिश्चित गर्न, वैधानिक रूपमा संस्था सञ्चालन, कोठे राजनीति र दलदलमा फसेको चलचित्र नगरी सफा गर्न, प्राविधिकहरूको हक अधिकार सुनिश्चित गर्न र बाहिरी शक्तिको भरमा चलेको नेफ्टाको संस्कार परिवर्तन लगायत एजेन्डा तिमल्सिनाले सारेका छन् ।

यस्तै अघिल्लो कार्यसमितिका उपाध्यक्षसमेत रहेका प्रकाश महरा पनि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा जुटिसकेका छन् । आफूले नै अब नेफ्टालाई राम्रो तवरले अगाडि बढाउन सक्ने उनी दाबी गर्छन् । संघलाई क्रियाशील र रचनात्मक बनाउने एजेन्डासहित अगाडि आउन लागेका महरा वर्तमान अध्यक्षको समेत आफूलाई समर्थन रहेको बताउँछन् । साथीभाइबीच सहमति भयो भने एक अध्यक्ष बन्छ । भिड्न परेको खण्डमा आफू पनि अध्यक्षको दाबेदार रहेको महराले बताए । अशक्त प्राविधिकलाई महिनावारी हिसाबमा भत्ता, सबैको स्वास्थ्य बीमा, संघको कार्डको प्रभावकारिता, सदस्यको हकहित र सुविधाको व्यवस्था लगायत महराले एजेन्डा अगाडि सारेका छन् ।

प्रोडक्सन म्यानेजर शङ्कर पाण्डे पनि नेफ्टाको अध्यक्षमा उठ्ने चर्चा छ । देशभरका प्राविधिक सक्षम बनाउने, हरेक दुःखमा सघाउने, प्राविधिकको हकहित तथा सामाजिक सुरक्षा, प्राविधिकलाई अन्तर्राष्ट्रिय क्षमता प्रदान गर्ने लगायत धेरै एजेन्डा उठाएका छन् । पाण्डे संघमा सबैको सहमतिमा नयाँ कार्यसमिति बनेको खण्डमा महासचिव उठ्ने र सहमति भएन भने अध्यक्ष उठ्ने बताउँदै आएका छन् । संघको कार्यसमिति सदस्य, सचिव लगायतको पदमा पटक–पटक रहेर काम गरेकोले पनि आफूले संघ सक्षम रूपमा हाँक्न सक्ने दाबी पाण्डेको छ । नेफ्टाको कार्यसमिति बाहिर रहेरसमेत सक्रिय भूमिका निर्वाह गर्दै आएका पाण्डे थुप्रै साथीहरूको चाहना आफूले नेफ्टाको नेतृत्व गरोस् भन्ने रहेको सुनाउँछन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१