काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देही भैरहवामा रहेको जेल रेस्टुरेन्ट बन्द गर्ने निर्णयबाट पछि हटेको छ।
आज बिहान प्रशासन कार्यालयले बोलाएर रेस्टुरेन्ट खोल्न अनुमति दिएको सञ्चालक दिपु जैसवालले जानकारी दिए।
आज बिहान सहायक सिडिओ सरले बोलाउनुभएको थियो। पछि गएर सिडिओ सरले हामीले सञ्चालनमा रोक लगाएको छैन, घरेलु उद्योगसँग गएर समन्वय गर्नुस् भनेर भन्नुभयो, जैसवालले भने।
गत सोमबार सिडिओसहितको अनुगमन टोलीले देवकोटा चोकमा रहेको उक्त रेस्टुरेन्ट बन्द गरिदिएको थियो। रेस्टुरेन्टको ढाँचा जेल जस्तो रहेको र त्यहाँ प्रयोग भएका सामग्री सुरक्षा निकायले प्रयोग गर्ने खालको रहेको र सोबारे अनुसन्धान गर्नुपर्ने भन्दै रेस्टुरेन्ट प्रशासनले रेस्टुरेन्ट बन्द गरिदिएको थियो।
तर प्रशासन कार्यालयले जिकिर गरेको ती रेस्टुरेन्टमा प्रयोग गरिएका सामग्री मात्र खेलौना रहेको र मनोरञ्जनका लागि प्रयोग गरिएको सञ्चालक जैसवाल बताउँछन्। उनले रेस्टुरेन्टमा प्रयोग गरिएको बन्दुक मेलाहरूमा बेलुनमा हान्ने खेलौना बन्दुक रहेको बताए।
प्रशासनले निर्णय फिर्ता लिएसँगै भोलिदेखि रेस्टुरेन्ट खुल्ने जैसवालले जनाए।