आत्मदाह प्रकरणको छानबिन गर्न गृहले बनायो समिति

काठमाडौं । गृह मन्त्रालयले संघीय संसद् भवनअगाडि भएको आत्मदाह घटनाको विषयमा छानबिनका लागि समिति बनाएको छ ।

गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा गठित छानबिन समितिमा अर्थ, उद्योग, श्रम, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगका प्रतिनिधि सदस्य छन् । समितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन समय तोकिएको छ ।

इलामका प्रेमप्रसाद आचार्यले संसद भवन अगाडि मंगलबार आत्मदाह गरेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिनको जिम्मा गृहलाई दिएको हो । मृतकले सामाजिक सन्जालमा राखेका विषयहरुबारे गहन छानबिन हुने मन्त्रालयका अधिकारीले बताएका छन् ।

मृतक प्रेमप्रसाद आचार्यले सामाजिक सन्जालमा आफू विभिन्न व्यापारिक लेनदेनमा घाटा व्यवहोरेको, ठगिएको र अन्यायमा परेको लेखेका थिए । गृह मन्त्रालय सूचना अधिकारी दिलबहादुर तामाङले छानबिनले सत्य तथ्य बाहिर आउने र छानबिनपछिको निष्कर्ष अनुसार आवश्यक कदम चालिने बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१