काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद बदर गरिदिएको छ।
गत मंसिरको चुनावमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
उनको नागरिकता र राहदानी विवादित थियो।
आज फैसला गर्दै सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको हो।
‘रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रूपमा नेपाली नागरिकता पुनस् कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन,’ फैसलामा भनिएको छ।
साथै सर्वोच्चले लामिछानेले चितवन २ मा उम्मेदवार हुन पाउने अवस्थासमेत नरहेको प्रष्टाएको छ। ‘निजले चितवन २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचितसमेत भएको देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कामय गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाण पत्र दिनेलगायत कामकारबाही नेपालको संविधानको धारा १३३ को उपधारा २ ९३० तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ,’ फैसलामा भनिएको छ।
साथै संविधान र कानूनको व्याख्यासम्बन्धी गम्भीर र महत्वपूर्ण प्रश्नसमेत सन्निहित रहेको पाइएको भन्दै निवेदकले निर्वाचन अधिकृत समक्ष दिएको उजुरको तथ्य तथा कानूनी आधारमा प्रवेश गरी निर्वाचन आयोगबाट निर्णय भएको अवस्थासमेत नदेखिएको सर्वोच्चको भनाइ छ।
रविले २०५० सालमा नेपाली नागरिकता लिएको, २०७० सालमा अमेरिकी नागरिकता लिएको र त्यसपछि २०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिई २०७५ साल असार १४ गते अमेरिकी नागरिकता त्यागेको देखिएको फैसलामा उल्लेख छ।
उनले नेपाली नागरिकता पुनस् कायम गर्न नेपाली नागरिकता ऐन २०६३ को दफा ११ तथा नेपाल नागरिकता नियमावली २०६३ को नियम ११ बमोजिम निवेदन नदिएको पनि सर्वोच्चको भनाइ छ।
click here