नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेका कारण गृहमन्त्री र सांसद सहितका महत्त्वपूर्ण पद गुमाएका रवि लामिछानेले आइतवार पुनः नेपाली नागरिकता लिएका छन्।
काठमाण्डूकी सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले यो जानकारी दिएकी हुन्।
“उहाँले भर्खरै नागरिकता लिनुभएको छ। आजको निर्णय अनुसार उहाँको पुरानै नेपाली नागरिकता पुनः प्राप्ति भएको हो,” खत्रीले बीबीसीसँग भनिन्।
लामिछानेले नागरिकता लिएपछि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन्। उनी बाहिरिँदै गर्दा जिल्ला प्रशासन कार्यालय परिसरमा समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो।
लामो समय अमेरिका बसेर फर्किएका लामिछानेले अमेरिकी नागरिकता लिएपछि उनको नेपाली नागरिकता स्वतः खारेज भएको फैसला सर्वोच्च अदालतले शुक्रवार गरेको थियो।
अदालतले उनले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहर गरेपछि लामिछाने नागरिकता लिन प्रशासन कार्यालय पुगेका हुन्।
नागरिकता ऐन र नियमावलीमा नेपालको नागरिकता पुन प्राप्तिका लागि विदेशको नागरिकता त्यागेको निस्सा सहित मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने उल्लेख छ।
यस्तो निस्सा दर्ता भएकै दिनदेखि नेपालको नागरिकता कायम हुने कानुनी व्यवस्था छ।
लामिछानेले अन्य सेवाग्राही सरह लाइन लागेर नागरिकता लिएको उनका वकिलले बताएका छन्।
