• २०८३ जेठ २२
  • 2026 June 05, Friday

सवारी चालकले मापसे चेकिङमा बसेका प्रहरीको भाँचिदिए हात

काठमाडौं । पोखरामा चेकिङमा बसेका प्रहरी हवल्दारको सवारी चालकले हात भाँचिदिएका छन् । मदिरा सेवन गरेर गाडी चलाएका पोखराका व्यवसायी सौरभ थापाले चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन्।

थापाले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी हवल्दार चित्रबहादुर वलीको हात भाँचिदिएका हुन्।

पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्प अगाडि गत बिहीबार बिहान ३ बजे प्रहरी हवल्दार चित्रबहादुर वली लगायत चेकिङमा बसेका थिए।
मदिरा सेवन गरेर मातेका थापालाई प्रहरी हवल्दार वलीले रोक्न खोज्दा पनि नरोकी छलेर गाडी हुँइकाएको एक प्रहरी अधिकृतले बताए।

प्रहरीले रोक्न खोज्दा भागेका थापा फर्केर आउँदा फेरी प्रहरीले रोक्न खोजेको र गाडीको ढोकाले ठक्कर दिएर हात भाँचिदिएको ती अधिकृतले बताए।मदिरा सेवन गरी गाडी चलाएर प्रहरीमाथि आक्रमण गर्न खोजेका थापालाई शुक्रबार नै प्रहरीले पक्राउ गरेर अदालतबाट ५ दिन म्याद थपेको छ।
गाडी चालक थापा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष ध्रुव थापाका छोरा हुन्।

पश्चिमाञ्चल डिलर्स एसोसिएसनका मनोनित सदस्यसमेत रहेका थापा पोखरामा अटो व्यवसाय संचालन गर्छन्। २५ वर्षे थापाले पोखरामा यसअघि पनि गाडी स्टन्ट गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ।