• २०८३ असार ३२
  • 2026 July 16, Thursday

कालिञ्चोक दर्शनको आइपिओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडाैं । कालिञ्चोक दर्शनको आइपिओ बिहीबार (आज) बिहान बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत ८९ हजार ६४० जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

आइपिओका लागि कुल १४ लाख ७३ हजार ९६९ जना आवेदकले आवेदन दिएकाेमा ८ हजार २०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गरेको थियो।

सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरिसकेको छ।

बाँकी रहेको सेयरमध्ये ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा छुट्याएको छ।

सो मध्ये पनि २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि छुट्याएको र बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सेयर भने सर्वसाधारणमा वितरण गरेको हो।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्छन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।