के तपाईंले कहिल्यै यो प्रश्न सुन्नु भएको छ, पुरुष कुन उमेरमा बुबा बन्नु पर्छ ? सायदै सुनेको होला ।तर कुन उमेरमा महिला आमा बन्ने भन्ने प्रश्न कहिले न कतै सुनेको होला ।
भारतमा पुन: एकपटक याे प्रश्न फेरि चर्चामा छ । यसको कारण हो, आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माको भनाइ, जसमा उनले महिलाका लागि २२ देखि ३० वर्षको उमेर नै आमा बन्ने सही समय भएको बताएका छन् ।
गुवाहाटीमा भएको एक कार्यक्रममा उनले भने, ‘महिला बन्नको लागि सबैभन्दा राम्रो उमेर २२ देखि ३० वर्षको बीचमा हुन्छ । महिलाले यसलाई पालन गरेमा आमा र बच्चा दुवैको लागि राम्रो हुन्छ ।’
प्रदेशमा मातृ तथा बालमृत्युदर घटाउने प्रयास सम्बन्धी कार्यक्रममा शर्माले यस्तो बताएका हुन् । उनले यसतर्फ सरकारको प्रयासबारे जानकारी दिए । उनका अनुसार कम उमेरमा विवाह र गर्भावस्था मातृ तथा बाल मृत्युदर बढ्नुको प्रमुख कारण हो ।
उनले भने, ‘हामी नाबालिगको जबरजस्ती विवाह र उनीहरुको प्रारम्भिक मातृत्वको कुरा गरिरहेका छौँ तर महिलाहरुले आफ्नो विवाहलाई धेरै समय ढिलो नगर्नु पनि जरुरी छ ।’ ३० वर्ष पुगेका महिलाले जतिसक्दो चाँडो विवाह गर्नुपर्ने पनि शर्माले बताए । त्यसबेलादेखि महिलाले कुन उमेरमा बच्चा जन्माउने भन्ने विषयमा बहस सुरु भएको छ ?
एक पक्ष भन्छन्, महिलाको शरीरमा उनीहरुकाे अधिकार छ, यसबारे निर्णय गर्ने अधिकार पनि उसलाई छ । अर्थात् उनी कहिले आमा बन्न चाहन्छिन् ।
हिमन्त विश्व शर्माको यो भनाइको आलोचना गर्दै महिलाको सवालमा काम गर्ने एक कार्यकर्ताले जुनसुकै पदमा बसे पनि महिलाले कुन उमेरमा आमा बन्ने भन्ने अधिकार कसैलाई नभएको बताएका छन् । तर, कतिपय डाक्टरहरुका अनुसार महिलाको आमा बन्नको लागि उपयुक्त उमेर २० देखि ३० वर्षसम्म हुन्छ र उनीहरुले यसको लागि मेडिकल कारण पनि बताएका छन् ।
स्त्री रोग विशेषज्ञ शालिनी अग्रवाल भन्छिन्, कुनै महिला निश्चित उमेरमा आमा बन्ने हो भने यो स्वास्थ्यका लागि राम्रो हुन्छ किनभने उमेर पुगेपछि महिलाको शरीरमा अण्डाको उत्पादन घट्ने गर्छ ।उनी भन्छिन्, ‘३० वर्षकी महिलामा अण्डाको संख्या ठिक हुन्छ र उनी गर्भधारण गर्न सक्षम हुन्छिन्, तर ३० वर्षको उमेरपछि महिलामा अण्डाको मात्रा कम हुन थाल्छ र ३५ वर्षपछि त्यसको संख्या घट्छ । तिनीहरूको गुणस्तर घट्छ र यसबाट जन्मिने बच्चामा कुनै विकारको सम्भावना बढ्छ । यस्तो अवस्थामा यदि कुनै महिला आमा बन्ने सोचमा छन् भने अधिकतम ३५ वर्षको उमेरमा नै आमा बन्नु पर्छ किनभने त्यसपछि बाँझोपनको समस्या आउन सक्छ ।’
सेन्टर फर सोशल रिसर्चकी निर्देशक तथा महिला अधिकार अभियन्ता रञ्जना कुमारी यस विषयमा कुनै पनि चिकित्सक वा विज्ञले सुझाव दिनसक्ने तर राजनीतिज्ञले यस विषयमा बोल्नु हास्यास्पद भएको र यसको आलोचना हुनुपर्ने बताउँछिन् ।
उनी भन्छिन्, ‘हामीले आईटी, बैंकिङ र ट्राभल टुरिजममा काम गर्ने महिलामाथि अनुसन्धान गर्याैँ । हामीले देखेका थियौँ कि ती महिलाहरूलाई ठूला-ठूला पदहरू प्रस्ताव गरिएको थियो, तर तिनीहरूले स्वीकार गरेनन्, किनभने तिनीहरूको स्थानान्तरण भइरहेको थियो वा तिनीहरूलाई घर र अफिसबीच सन्तुलन गर्न गाह्रो थियो । महिलाका लागि पारिवारिक र सामाजिक जिम्मेवारी सर्वोपरि हुन्छ ?’
प्राय विश्वमा नै, बच्चा हुर्काउने जिम्मेवारी मुख्यतया महिलाको मानिन्छ र समाजमा संयुक्त अभिभावकको कुनै अवधारणा छैन वा जसमा आमाबुवा दुबैले पूर्ण जिम्मेवारी लिन्छन् । रञ्जना कुमारी भन्छिन्,‘अहिले कतिपय महिलाले बच्चा जन्माउन चाहँदैनन् वा छिटाे बिहे गर्न चाहँदैनन्, जसलाई समाजमा सम्मान गर्नुपर्छ ।’
अर्कोतर्फ, प्रविधिको यति धेरै विकास भइसकेको छ कि उनीहरूले चाहेको बेला सन्तान जन्माउन सक्छन्, तर किन स्वतन्त्र रूपमा निर्णय गर्न सक्दैनन् ? जलवायु परिवर्तन, कर्पोरेट क्षेत्र र महिलाको दृष्टिकोणबाट विकास जस्ता विषयलाई समेट्ने पत्रकार अदिती कपुरले बच्चा जन्माउने र सँगसँगै करियर बनाउने बोझ महिलामाथि हुने गरेको बताइन् ।
यस्तो अवस्थामा उनीहरूका लागि यस्तो सुविधा उपलब्ध गराउन आवश्यक छ । जसले उनीहरूलाई मद्दत गर्न सक्छ । उनी भन्छिन्, ‘महिलामा बच्चा जन्माउन जैविक दबाब हुन्छ । पुरुषका लागि पितृत्व बिदाको प्रावधान वर्षौं पछि आयो । सरकारी जागिरमा १५ दिनको भए पनि निजीमा यो कम वा पटक्कै हुँदैन । यस्तो अवस्थामा महिला र प्रदेश सरकार र केन्द्र सरकारको सहकार्यका लागि यस्ता सुविधालाई सुदृढ गर्न आवश्यक छ । आखिर, तिनीहरू पनि जीडीपीमा योगदान गरिरहेका छन् ।’
यही कुरालाई अगाडि बढाएर डा. सुचित्रा दलवी भन्छिन्, ‘एउटी आमा संगठित होस् वा असंगठित क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँ आफ्नो बच्चाको स्याहारसुसारको व्यवस्था गर्नुपर्छ । महिलालाई रोजगारीको सुरक्षा हुनुपर्छ ।’